आईफा अवार्डका लागि बजेट दिने निर्णय भएको छैन- पर्यटन बोर्ड

आईफा अवार्डका लागि बजेट दिने निर्णय भएको छैन- पर्यटन बोर्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल टुरिज्म बोर्डले सरकारले ‘इन्टरनेशनल इन्डिया फिल्म एकेडेमी (आईफा) अवार्डका लागि अनुमति दिएपनि बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सो अवार्ड आयोजनाका लागि अनुमति दिएपनि सरकारले त्यसका लागि बजेट दिने कुनै पनि निर्णय नगरेको प्रष्टयाएका हुन् । निजी क्षेत्रको सहकार्यमा हुने सो अवार्ड आयोजनाका लागि १ अर्व बजेट दिन लागेको भन्दै सरकारको आलोचना भईरहेका बेला आयोजकको जिम्मेवारी पाएको बोर्डले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले बजेट दिने कुनै निर्णय नगरेको प्रष्टयाएको हो । प्रमुख कार्यकारी अधिकृत जोशीले सो कार्यक्रम आयोजनाका लागि करिव ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको र त्यसलाई बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले मिलेर व्यहोर्ने विषयमा छलफल भईरहेको पनि जानकारी दिए ।

बोर्डले सो अवार्ड नेपालको पर्यटन प्रबर्द्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । सो अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरु सहभागी हुने सो अवार्ड पर्यटन प्रबर्द्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताए । जोशीका अनुसार सो अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ ।

मन्त्रीपरिषद बैठकले सो अवार्डको आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

Skip This
Skip This
Logo