भोजपुर,
वर्षेनी खानेपानी संकटले थलिने दुर्गम गाउँ हो, रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्ज्याङको रानागाउँ । यो गाउँमा खानेपानीको श्रोत एउटै सार्वजनिक कुवा छ । गाउँका अरु पनि दर्जनौँ कुवा थिए । तर ती सुकिसके । सबै कुवा सुक्दा पनि गाउँलेहरूलाई पानी दिइरहेको यो कुवामा रातदिन ताल्चा लगाइन्छ भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला । तर गाउँबासीका लागि यो नौलो कुरा होइन ।
हिउँदे खडेरी सुरु भएसँगै खानेपानीको जोहो गर्न रानागाउँबासीले कुवामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको संकट चुलिएका बेला एउटा मात्रै कुवाको पानी बाँडीचुँडी चलाउन कुवामा ताल्चा लगाइएको हो । रानागाउँका करिब १६ घरपरिवारलाई उक्त कुवाको पानीले बिहानबेलुका जेनतेन २,२ गाग्री खानेपानी पुग्ने गर्छ ।
सुख्खाको बेला कुवामा लापरबाही ढंगबाट खानेपानीको उपभोग हुने भएकाले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय बासिन्दा रमिला रानामगरले बताइन् । ‘गाउँमा वर्षैपिच्छे खानेपानीको हाहाकार हुन्छ । सबैलाई भनेजति खानेपानी पुग्दैन’, उनले सुनाइन्, ‘एकचोटीमा सबैलाई २ गाग्री मात्रै खानेपानी उघाउन पुग्छ । त्यसपछि कुवाको पानी रितिन्छ । फेरि जमाउनै पर्यो नत्र बिहान र बेलुकी चुलोमा खाना पाक्दैन ।’
दुई वर्ष अघिसम्म आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि यही कुवाको पानीले मनग्गे पुग्थ्यो । वल्लोपल्लो गाउँका बस्तुभाउलाई खुवाउन कुनै समस्या थिएन । तर पछि सुख्खाले मुहान सुक्दै गयो । कुवाबाट रातीराती जथाभावी पानी लान थालेपछि गाउँले सबै मिलेर कुवामा ताल्चा लगाउन थालेको अर्का स्थानीय जीतबहादुर क्याप्छाकीमगरले सुनाए । उनी भन्छन्, ‘पहिले यही कुवाको पानीले सबैलाई पुग्थ्यो । पछि मुहान सुक्न थाले। अन्य गाउँका मानिस रातारात आएर पानी लाने, जाँदा कुवामा पानी नहुने, जथाभावी बस्तुभाउलाई पानी खुवाउन थालेपछि ताल्चा लगाउन थाल्यौँ ।’
अन्नपूर्णबाट































प्रतिक्रिया