लिफ्ट दिएर ट्रकभित्रै बलात्कार : चालक र सहचालक पक्राउ

लिफ्ट दिएर ट्रकभित्रै बलात्कार : चालक र सहचालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

दमौली,

नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्रै बलात्कार गरेका छन् ।

बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन् ।

ट्रकका चालक मोरङ ऊर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३० वर्षीय चालक विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन् । तर करिब दुई घण्टामा नारायणगढ पुगेको ट्रकबाट झर्न नदिएर आफूलाई जर्बजस्ती ट्रकमै बलात्कार गरिएको महिलाको आरोप छ । दमौलीका लागि रड लिएर आउँदै गरेको सो ट्रकलाई व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर चालक र सहचालक दुवैले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ ।

विहान करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाको भनाइ छ। घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।

पीडित ३० वर्षीया महिला विवाहित रहेको बताइएको छ । उनलाई आफन्त सम्पर्कमा आएपछि दमौलीस्थित महिला आश्रयगृहमा राखिएको छ । आश्रयस्थलमा रहेकी उनले आफूमाथि यस्तो होला भनेर कल्पनासम्म नगरेको बताइन् ।

‘बसले नरोकेपछि ट्रकलाई हात दिएँ । रोक्यो पनि ।’ उनले भनिन्, ‘तर अप्ठेरो पर्दा लिफ्ट दिएका चालकबाट यस्तो होला भनेर सोचिन ।’ उनले घटनामा चालक र सह चालक दुवै संलग्न रहेको आरोप लगाइन् । प्रहरीले महिलाको अवस्था सुधार नआउँदासम्म उनलाई आश्रयगृहमा राखिने बताएको छ ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo