काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ।
उद्योगी विनोद चौधरीलाई सिआइबीले बयान लिइसकेको छ। शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ।
सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन्।
शनिबार सामाजिक संञ्जालमार्फत उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन्। निर्वाणले युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन भन्ने प्रश्न पनि गरेका छन्।
‘आज राजनीति स्टण्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ?एकपटक आत्ममन्थन गरौं,’ निर्वाणले फेसबुकमा लेखेका छन्। चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका निर्वाणले देशलाई समृद्धी र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन्।































प्रतिक्रिया