काठमाडौं । वर्ष ०७५ सालको एसईई परीक्षाको नतिजा विहिबार प्रकाशित भएको छ । यस परीक्षामा सेलीब्रेटी परीक्षार्थीको रुपमा रहेका नायिका करिष्मा मानन्धर र सांसद शान्ता चौधरीले राम्रो ग्रेडमा उत्तीर्ण भए ।
परीक्षाको नतिजा प्रति सन्तुष्ट हुँदै नेकपा नेतृ एवं सांसद चौधरीले सबैलाई धन्यवाद दिएकी छिन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आज सहयोग गर्नु हुने र बधाई दिनु हुने सबैलाई धन्यवाद दिएकी छिन् । हेरौं उनको भनाई जस्ताको तस्तै :
एसईईको परिक्षाफल प्रकाशित भयो । मन गरुङ्गो भयो , मुटु चिमोटियो र एक्कासि आँखा रसाए किनकी मलाई अँध्यारो कुनाभित्रको अतितले पढाईसँग तेरो कहिल्यै साक्षात्कार हुन सक्दैन भनेर खिसिट्युरी गरिरहन्थ्यो र भनिरहन्थ्यो एउटा गरिब कमलरीको सन्तानको रुपमा जन्म लिनेले असम्भव सपना देख्ने नगर , तेरो पुस्तौं पुस्ताले यस्तै खालको दासी जीवन भोग्दै जानू पर्नेछ । धन्य समय पिंजडालाई तोडेर हामीलाई बाहिर निकाल्न बलशाली भएर आईदिएछ । भाँच्यौं शोषणका खुनी नंग्राहरु , उघारिदियौं दासताका घुम्टोहरु , च्यातिदियौं दमनका पर्दाहरु र निस्कियौं मुक्त आकाशको खोजिमा ।
बाल्यकालमा पुरा हुन नसकेका रहरहरु पुरा गर्दै जाने अठोट गरें मैले । त्यसैले त आज मलाई मेरा मनका रहरहरुले छोराछोरीका उमेर समुहका नानी बाबुहरुसँगै अध्ययन गर्ने अवस्थामा उभ्याएको छ । अलि बढी भावुक छु र खुशी पनि छु । धेरै नम्बर ल्याउन सक्ने परिस्थिति मसँग थिएन । पुरै समय दिएर अध्ययन गर्ने वातावरण पनि मसँग थिएन , त्यसकारण परिणामसँग पुर्ण रुपमा सन्तुष्ट छु । म यतिबेला फेरि पनि संझन चाहन्छु मलाई प्रेरणा प्रदान गरेर हौसला बढाईदिनु हुने आदरणीय अग्रज व्यक्तित्वहरु एवं सम्पुर्ण शुभ चिन्तक मित्रहरूलाई । उहाँहरु प्रति नतमस्तक भएर हृदयदेखि नै सम्मान व्यक्त गर्दछु । साथै मलाई विभिन्न माध्यमबाट बधाई दिनु हुने सम्पुर्ण महानुभावहरु प्रति आभार व्यक्त गर्दछु ।
सबै अवस्थाहरु बुझ्दा बुझ्दै पनि मेरो कमलरी हुँदाको विगतलाई संझाएर बारम्बार हेप्नेहरु र मेरो अध्ययनको विषयलाई लिएर उपहास गर्नेहरूप्रति पनि कुनै गुनासो छैन किनकी सम्भ्रान्त वर्गको वर्गीय शोषणको चरम रुप देखेको र भोगेको मान्छे हुँ म । आँखा उस्तै देखिए पनि , दृश्य उस्तै देखिए पनि दृष्टिकोण फरक फरक हुन्छ भन्ने राम्रोसँग थाहा छ मलाई । त्यसैले उहाँहरुको अभिव्यक्ति पनि उहि सामन्त वर्गको प्रतिनिधित्व गर्ने अभिव्यक्ति नै त होला भनेर बुझेको छु मैले । अन्त्यमा व्यक्तित्व विकास , सिकाई र नेतृत्व विकासलाई अनवरत रुपमा अगाडि लैजाने मेरो प्रण हो । त्यसैले म आदरणीय अग्रज एवं शुभ चिन्तक साथीहरुबाट निरन्तर साथ सहयोगको अपेक्षा राख्दछु । साथै एसईईमा बि प्लस ग्रेड ल्याउन सफल मेरी छोरी बिनु लगायत सम्पुर्ण भाइ बहिनीप्रति हार्दिक बधाई दिँदै आगामी दिनमा अझै मेहनत पुर्वक अध्ययन गरी उज्ज्वल भविष्य निर्माणमा लाग्नका लागि शुभकामना व्यक्त गर्न चाहन्छु ।
































प्रतिक्रिया