आज हामी एक जना अनौठो प्रतिभाको प्रेरणादायी कथा व्यथा प्रस्तुत गर्दैछौ ।
उनी एक जना राम्रा चित्रकार र गायक हुन् । उनको गला र कला गाउँवस्तीको झुपडीदेखि विश्वका कुनाकाप्चासम्म पुगेका छन् । तर, उनको धेरैजसो समय भने आफ्नै घरको आँगनमा बित्छ । त्यो पनि एउटै आसनमा ।
उनका लागि उठ्ने, बस्ने, हिड्ने त धेरै परको कुरा । उनलाई कोल्टे फेर्न पनि निकै गाह्रो छ । एक ठाउँबाट अर्काे ठाउँ सर्नु पर्यो भने पनि उनलाई निकै बल लगाउनुपर्छ । आफ्नै शरिर चिलायो भने पनि उनी आफू कनाउन सक्दैनन् । जिउमा किरा फट्याग्रा आए पनि उनी त्यसलाई धपाउन सक्दैनन् ।
ओछ्यानमा सिरक ओढ्नदेखि शौचालय जान पनि उनलाई अरुको साथ चाहिन्छ । उकालो ओरालो र सवारी यात्रा गर्नका लागि उनलाई ३/४ जनाको साथ चाहिन्छ । अरुको सहाराबिना चल्न नसक्दा उनले कयौ पटक थुक पिएर पानीको प्यास मेटेका छन् । यसरी कष्टप्रद तरिकाले २० वटा हिउँद बर्षा विताईसकेका प्रतिभा हुन् मकवानपुरको थाहा नगरपालिका १ खानीगाउँका अमिर बम्जन ।
नेपालकै पुरानो बाइरोडको बाटोको छेउमै रहेको उनको घर २०७२ सालको भूकम्पले भत्कायो । त्यसपछि अहिले उनको परिवार हरियाली जंगलको बीचमा रहेको एकतल्ले घरमा बस्छन । घरमूनि कलकल बगिरहेको खोलाको पानी, वरिपरि चिरविराईरहेका चराचुरुंगी र हरियाली जंगल नै उनका साथीसँगी हुन् । त्यसका अलावा मोबाइल, मिनि ल्यापटप र पेन्टिङका सामाग्रीहरु पनि उनका सारथी हुन् ।
सन्तान सुख प्राप्त हुनु हरेक अभिभावकका लागि सुखद पल हो । अझ एक आमा जो आफ्नो सन्तानको आगमनले प्रसवको कठोर पीडा समेत भुलेर हर्षको आँसु झार्छिन् । तर, अमिरकी आमा दिलमायाको जीवनमा सन्तानको सुखसँगै विपत्ती पनि बेरिएर आयो ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्





























प्रतिक्रिया