बेदकोटको नगरसभाले कानूनको खिल्ली उडायो

बेदकोटको नगरसभाले कानूनको खिल्ली उडायो

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । यो माथिको तस्बिर बेदकोट नगरपालिकाको पाँचौ नगर सभाको उद्घाटन सत्रको हो । तस्बिरमा बायाँबाट क्रमशः बेदकोटका नगर उप प्रमुख सुशिला सिह, नगर प्रमुख अशोक कुमार चन्द, सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण, पर्यटन राज्यमन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खड्का र बेतकोटका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले नगर सभामा आसन ग्रहण गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावल कार्यक्रममा प्रमुख अतिथिका रुपमा आसिन छन् । नगर प्रमुख चन्द सभापति र अन्य अतिथिका रुपमा आसिन छन् ।

बेदकोट नगर कार्यपालिकाका प्रवक्ता वडा नं. २ का अध्यक्ष नरेश बहादुर सिह कार्यक्रम सञ्चालन गरिरहेका छन् । बेदकोट नगर सुदूरपश्चिम प्रदेशका राज्य मन्त्री रावललाई प्रमुख र प्रदेश सभा सदस्य खड्कालाई अतिथि बनाएर ऐनको उल्लङ्घन गरिएको छ । नगरपालिकाले ऐन विपरित नगर सभाको उद्घाटनमा मन्त्री रावल र प्रदेशसभा सदस्य खड्कालाई अतिथि बनाएको हो ।

यो ऐन अनुसार प्रदेश सरकारका मन्त्री, साँसद वा स्थानीय सरकारले आमन्त्रण गरेका व्यक्तिहरु नगर सभामा अतिथि उपस्थित भएर सभालाई सम्बोधन गर्न सक्ने छन् ।

बेदकोटमा उद्घाटन गरी आसन ग्रहण मात्रै गरिएको छैन, नगर सभा सञ्चालनको जिम्मेवारी दिइएका नगर सभा सचिव प्रमुख प्रशासकीय अधिकृत प्रमुख अतिथिसंगै मञ्चमा बसेका छन् । सभा सदस्य हुने नगर कार्यपालिका प्रवक्ता नरेश बहादुर सिहले कार्यक्रम सञ्चालन गरेका छन् ।

गाउँ तथा नगर सभा सञ्चालन ऐनमा नगर सभा अध्यक्षको अध्यक्षतामा नगर सभा सञ्चालन हुने प्रावधान राखिएको छ । नगर सभाको प्रारम्भ र समापन गर्ने अधिकार नगर सभा अध्यक्षलाई प्रदान गरिएको छ । सभा सञ्चालनको अधिकार नगर सभा सचिवलाई दिइएको छ ।

‘यो जानेर गरियो किन नजानेर गरियो, कानुन बनाउने मन्त्रीज्यू र सभासदज्यूलाई विवादमा पार्ने कार्य गरियो, कम्तिमा नगरपालिकाले प्रदेश सरकारको कानुन त पढ्नु पर्‍यो’ नगर सभा उद्घाटन सत्रमा सहभागी एक नेताले भने, ‘यहाँ बाहिर देखाउनलाई यस्तै भई रहेको रहेछ, नियम कानुन भन्ने केही रहेनछ ।’

यस अघि चार ओटा नगर सभा पनि यसरी नै उद्घाटन गरिएका छन् । एक महिना अघि संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रमुख अतिति बनाएर चौथो नगर सभा गरिएको थियो । ऐन अनुसार पुसमा हुनपर्ने सभा गत जेठ मात्रै गरिएको थियो । पाँच महिनापछि गरिएको सभालाई लिएर सत्तारुढ नेकपामा नेताहरु समेत नगर प्रमुखले उपप्रधानमन्त्री पोखरेललाई प्रमुख अतिथि बनाएर विवादमा पारेकोमा चिन्ता जाहेर गरेका थिए ।

बेदेकाटका नगर प्रमुख चन्दले राजनीतिक सम्बन्ध बलियो बनाउन नगर सभाका लागि ऐन कानुन मिच्दै आएका छन् । चौथो नगर सभामा उपप्रधान तथा रक्षा मन्त्री पोखरेललाई प्रमुख अतिथि बनाएर आफू शक्तिको पूजारी भएको प्रष्ट पारि दिएका छन् ।

पाँचौ नगर सभामा सुदूरपश्चिम प्रदेशका राज्य मन्त्री रावललाई प्रमुख अतिथि बनाएर राजनीतिक सम्बन्ध बलियो बनाउन खोजेका छन् । नगर प्रमुख चन्दको सम्बन्ध बलियो बनाउने रणनीतिले राज्यमन्त्री रावल भने विवादमा परेका छन् । ‘मन्त्रीज्यूले कम्तिमा त आफैंले बनाएको कानुन त पालना गर्नुपर्छ, आशन ग्रहण गरी भाषणा गर्ने परेको भए ऐन नै त्यही अनुसार बनाई दिए हाल्थ्यो नि ?’ नेकपाका एक नेताले भने ।

सरकारले बनाएको कानुन सरकारका मन्त्री, सांसदले नमाननेपछि पछिल्लो पटक सरकार अराजकतातिर लम्किएको गुनासा आउन थालेका छन् । नेकपाबाट निर्वाचित मन्त्री, सांसद र स्थानीय तहका प्रमुख कानुन मिचेर गएको बेदकोटको नगर सभाबाट प्रष्ट देखिएको छ । उद्घाटन सत्रमा नगरपालिकाको आगामी आ.व. २०७६÷०७७ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको छ ।

Skip This
Skip This
Logo