काठमाडौं ।
उखुको भुक्तानी पाउनु पर्ने माग गर्दै आन्दोलनरत उखु किसानले आइतबारदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । आइतबार देखिको प्रदर्शन आज पनि जारीे छ ।
शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका थिए भने आज फेरि आन्दोलनलाई ऐक्यबद्धता जनाउनका लागि बारा, पर्सा, रौतहट र नवलपरासीबाट पनि उखु किसानहरु आएका छन् ।
यसरी अन्य जिल्लाका पनि पीडित किसानहरु काठमाडौं आएपछि सर्लाहीका उखु किसानले थालेको आन्दोलन अझ चर्किदै जाने देखिएको छ । विगत चार वर्षदेखि उखुको भुक्तानी नपाएका किसानहरुले चिनी मिलका सञ्चालकबाट भुक्तानी नपाउन्जेलसम्म आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन बारा, पर्सा, रौतहट र नवलपरासीबाट अरु किसानहरु पनि आएको उखु किसान संघर्ष समिति सर्लाहीका हरिश्याम रायले बताएका छन् । किसानले भुक्तानी नपाएसम्म आन्दोलन नरोक्ने भएकाले थप आएकासहित माइतीघरमा ३०० जना किसानहरु अहिले आन्दोलनमा छन् ।
मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गतेभित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तर पनि उद्योगीहरुले एकवर्षसम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । बुधबार उखु किसानहरु हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए । सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरुले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।
उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरुलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरु भने सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।































प्रतिक्रिया