काठमाडौं,
नेपाली कांग्रेसका स्थानीय तहका नेताले पार्टी सुधारका लागि १४ औं महाधिवेशन प्रक्रिया थाल्न नेतृत्वलाई दबाब दिएका छन् । उनीहरूले शीर्ष तह गुटमा अलमलिइरहेको र केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म सशक्त प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन नसकेको भन्दै महाधिवेशनमा जुट्न दबाब दिएका हुन् ।
जागरण अभियानमा स्थानीय तहमा कार्यकर्ताले अधिवेशन माग गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । उनले भने, ‘अधिवेशनबिना पार्टीमा सुधार आउन सक्दैन । जागरणले मात्र प्रभावकारी हुन सक्दैन भन्ने स्थानीय नेताको आवाज छ ।’ नेतृत्वले यसबारे ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले अहिलेको जागरण पनि फलदायी रहेको बताए ।
अर्का केन्द्रीय प्रतिनिधि नगेन्द्र कुमालले स्थानीय नेताले महाधिवेशनमा गए पार्टी स्वतः सक्रिय रहने धारणा आएको बताए । उनले भने, ‘स्थानीय तहका साथीहरूले महाधिवेशन प्रक्रिया थालनी गरे मात्रै पार्टीमा जागरण आउन सक्ने भन्दै त्यसमा जुट्न आग्रह गरेका छन् ।’
नियमित प्रक्रिया अनुसार आउने फागुनमा कांग्रेसको १४ औं महाधिवेशन हुनुपर्छ । तोकिएको समयमै महाधिवेशन गर्ने हो भने स्थानीय तहदेखि अधिवेशन प्रक्रिया सुरु भइसक्नुपर्ने थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा विशेष अवस्थामा मात्र कार्यकाल थप्न सकिने प्रावधानमा टेकेर १ वर्ष लम्ब्याउन खोज्दै छन् ।
यसैबीच कांग्रेसले सुरु गरेको पहिलो चरणको जागरण अभियान शनिबार सकिँदै छ । पार्टीको तल्लो तहसम्मै सुधारको अपेक्षा र सरकारविरुद्ध उत्रने उद्देश्यसाथ २५ वैशाखदेखि एकमहिने जागरण अभियान सुरु गरेको थियो । उक्त जागरणबारे समीक्षा गरेर दोस्रो चरणको कार्यक्रम ल्याउने कांग्रेस तयारी छ । कांग्रेसले तीन चरणको ९ महिने लामो देशव्यापी जागरण अभियान घोषणा यस वर्षको सुरुमै गरेको थियो । दोस्रो चरणको अभियान भदौमा सुरु हुँदै छ । पहिलो चरणको कार्यक्रम समापनको सन्दर्भमा हरेक जिल्लामा आमसभा गर्दै छन् । कार्यक्रमका लागि सभापति शेरबहादुर देउवा विराटनगर जाँदै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पश्चिमकै जिल्लातिर छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणको जागरण अभियानले पार्टीको तल्लो तहसम्मको समस्या केन्द्रीय नेताले थाहा पाएको र सिंगो पार्टी चलायमान भएको दाबी गरे । पहिलो चरणको जागरण अभियानका लागि केन्द्रबाट गएका प्रतिनिधि काठमाडौं आएर आ–आफ्नो क्षेत्रको सम्पूर्ण विवरण २८ गतेभित्र पार्टीलाई बुझाउनुपर्नेछ । त्यसपछि केन्द्रीय समितिको बैठक गरेर कांग्रेसले पहिलो चरणको जागरण अभियानको समीक्षा गर्ने योजना बनाएको छ । प्रवक्ता शर्माले पहिलो चरणमा देखिएको कमीकमजोरी वा स्थानीय नेता–कार्यकर्ताले सुझाएका कुरासहित दोस्रो चरणको अभियान सुरु हुने बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया