मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खु लगायत क्षेत्रमा पाइप फुटेका हुन् ।

३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले बताए । क्षति भएका पाइप हटाएर पुनः नयाँ बिछ्याउँदा थप १६ करोड लाग्ने उनले बताए ।

‘हामीले पाइप बिछ्याएको ठाउँमा सडक विभाग र स्थानीय तहले सडक विस्तार गर्दा तथा ढल निर्माण गर्दा पाइप फुटेका हुन्,’ खत्रीले भने, ‘निर्माण व्यवसायीका कमजोरीले समेत पाइप फुटेका छन् । करिब १६ करोड रुपैयाँबराबरको क्षति पुगेको छ । अब पुनः बिछ्याउँदा उत्ति नै खर्च हुन्छ ।’ मुख्य पाइपबाट घर–घरमा लैजान जोडिएका पाइपमा धेरै क्षति पुगेको उनले बताए ।

आयोजनाले उपत्यकामा ०७० देखि पाइप बिछ्याउँदै आएको छ । अहिलेसम्म एक हजार दुई सय किलोमिटर पाइप बिछ्याएकोमा अब तीन सय किलोमिटर बाँकी छ । हाल ललितपुर महानगरपालिका क्षेत्र, कलंकी, कुलेश्वरमा बिछ्याउने काम भइरहेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo