एजेन्सी । चीनले पहिलो पटक तीन वटा टेलिकम कम्पनीलाई ‘फाइभ-जी’ सञ्चालनको अनुमति दिएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम फाइभजी सञ्चालनको लाइसेन्स दिएको हो ।
त्यस्तै टेलिकम्युनिकेसन अपरेटर चाइना ब्रोडकास्टिङ नेटवर्कले पनि ‘फाइभ-जी’ को लाइसेन्स पाएको छ। संसारकै ठूलो दूरसञ्चार पूर्वाधार निर्माता कम्पनी हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि चीन सरकारले त्यहाँका टेलिकमलाई ‘फाइभ-जी’ सेवा सञ्चालनको अनुमति दिएको हो।
यी कम्पनीहरूले हुवावेकै ‘फाइभ-जी’ पूर्वाधार प्रयोग गरिरहेका छन्। अमेरिका, दक्षिण कोरिया, बेलायत र अष्ट्रेलियाले यसअघि नै ‘फाइभ-जी’ विस्तारको तयारी अघि बढाइसकेका थिए ।
गतवर्षको अप्रिलदेखि हुवावेले चीनका ४० भन्दाबढी शहरहरुमा फाइभ जी नेटवर्कको परीक्षण गरेको थियो । टेलिकम प्रविधिमा अन्तर्राष्ट्रिय रुपमै नाम कमाएको हुवावेले चीनभित्रका सर्भिस प्रदायकहरुसँग काम गर्नेछ।
कोरिया सन् २०१९ को मार्चदेखि नै फाइभ जी प्रविधिमा गएको थियो। अमेरिकाका एटीएन्टी, भेरिजोनसहितका सेवा प्रदायकहरुले निश्चित सहर केन्द्रित भएर सेवा थालेका छन्।
नयाँ प्रविधि अपनाउँदा फोर जीलाई कुनै अवरोध नपर्ने गरी विस्तार गर्ने चिनियाँ अधिकारीहरुले जनाएका छन्। सन् २०२० देखि २०२५ सम्म फाइभ जी विश्वभर फैलिने अनुमान छ।
फाइभ जी प्रविधिको ठूलो व्यापारमा चीन र अमेरिकी कम्पनीबीच टक्कर छ। चिनियाँ कम्पनीहरुले बेलायत, दक्षिण कोरियाजस्ता मुलुकको व्यावसायिक फाइभ जी प्रविधिको विकासमा सहयोग गरिरहेका छन्।































प्रतिक्रिया