प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

प्रधानमन्त्रीले जिम्मा लिएकी बालिका खर्च नपुगेर यार्सा टिप्न हिमालतिर

केन्द्रबिन्दु
0
Shares

मुगु,

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिभावकत्व पाएकी एक बालिका वर्षभरीको खर्च जुटाउन मुगुको उच्च हिमाली क्षेत्र पाटन गएकी छिन् । आर्थिक अवस्था कमजोर र बाबु गुमाएकी मुगुम कार्मारोङ गाउँपालिका–८ माँग्री गाउँकी ८ वर्षीया ठिन्ले साङमु लामा आफ्नो वर्षभरीको पढाई तथा अतिरिक्त खर्चको जोहो गर्न एक महिनाका लागि यार्सागुम्बा टिप्न हिमालतिर हिडेकी हुन् ।

२०७५ वैशाख १ गते कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न रारा पुगेका प्रधानमन्त्री ओलीले विद्यालय भर्ना अभियानको अवसर पारेर ८ वर्षीया लामालाई कक्षा १ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका थिए । लामाको अभिभावकत्व प्रधानमन्त्री ओलीले लिएपछि उनको पठनपाठन तथा दैनिक दिनचर्यामा परिवर्तन आउने अपेक्षा उनका आफन्त र छिमेकीले लिएका थिए । तर लामाले एक कक्षामा राम्रै नतिजा ल्याएर दुई कक्षामा पुगेको एक महिनामै थप खर्च जुटाउनुपर्ने बाध्यता आएको हो ।

लामा जस्तै गएको अघिल्लो बैशाख १ गते नै प्रधानमन्त्रीपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरी भर्ना गरेकी छिरिङ छोङजुम लामा पनि पढाई तथा अतिरिक्त खर्च जुटाउन यार्सा संकलन गर्न हिमाली क्षेत्र पाटन गएकी छिन् ।

यसअघि आर्थिक समस्याका कारण पठन पाठनमा समस्या परेको भन्ने समाचार आएपछि प्रधानमन्त्री ओलीले जिल्ला प्रशासन कार्यालय मार्फत १० हजार नगद पठाएका थिए । ठिन्ले मात्रै हैनन् उनी जस्ता हजारौं बालबालिका यो बेला यार्सा टिप्न हिमालतिर गएका छन् ।

यार्सा सङ्कलनबाट ९० लाख शुल्क

यसैविच मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जन भन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि दुई हजार ५०० प्रवेश शुल्क तोकिएको थियो ।

उक्त स्थानमा जाने सङ्कलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत ९० लाख प्रवेश शुल्क उठाएको हो । मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोला लगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका चार हजार सङ्कलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो ।

यो वर्ष सङ्कलनकर्ताबाट ९० लाख स्थानीय राजश्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिनुभयो ।

नागरिकबाट

Skip This
Skip This
Logo