काठमाडौं ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो अध्यादेश फिर्ता हुनुपर्ने माग उठेको छ ।
मंगलबार मत्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाले विरोध गरेको हो ।
अध्यादेश जारी भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको असन्तुष्ट नेताहरूको बैठकले प्रधानमन्त्री ओलीको आलोचना गर्दै अध्यादेश तत्काल फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको छ । साथै यस विषयमा पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने मागसमेत असन्तुष्ट नेताहरूले गरेका छन् ।
अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए ।
सरकारले ल्याएको अध्यादेशलाई अध्यक्ष दाहालले संविधानको मूल्य, मान्यता र भावनाविपरीत भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । ‘यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको छ त्यसैले तत्काल फिर्ता गर्नुको विकल्प छैन,’ बैठकमा सहभागी एक नेताले अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै भने ।
नेकपा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा रूपमा प्रतिवाद हुने बताए । सरकारले अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्ने बताउँदै उनले यस विषयमा बैठकमा ओलीले जवाफ दिनुपर्ने बताए ।
वरिष्ठ नेता नेपालले पार्टीलाई नै अन्धकारमा राखेर अध्यादेश आएको टिप्पणी गरेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा समेत कुनै जानकारी नदिई प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरेका छन् ।
‘पार्टीलाई नै अन्धकारमा राखेर अध्यादेश जारी गर्नु राम्रो होइन,’ नेपालले भने, ‘मन्त्रिपरिषद् बैठकमा सहभागी मन्त्रीलाई समेत यस विषयमा थाहा नहुनु यो कस्तो तरिका हो ?’
सत्तारूढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला अध्यादेश आउनुले पार्टीमा थप विवाद सिर्जना गरेको छ । एउटा विवाद समाधान नहुँदै अर्को विवाद हुनुले थप समस्या बढाउने काम भएको छ । विवादकै बीच स्थायी कमिटीको जारी बैठक बुधबार बस्दै छ ।राजधानीबाट





























प्रतिक्रिया