मलंगवा,
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्य तथ्य लेख्ने पत्रकारलाई मिडिया विधेयकले केही फरक नपार्ने बताएका छन् ।
सर्लाहीको हरिवनमा रेडियो सर्लाहीको ११ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित सामुदायिक रेडियोको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । मन्त्री बाँस्कोटाले गणतन्त्रको पत्रकारिता पूर्णरुपमा व्यवसायिक हुनु पर्नेमा जोड दिए ।
‘भष्टाचारीलाई सजाय हुन्छ । भ्रष्टाचार नगर्नेलाई सजाय हुँदैन । समाचार लेखे बापत कसैलाई सजाय हुदैंन ’, उनले भने, ‘तर, हातमा कलम छ भनेर जथाभावी लेख्नु भएन ।’
उनले मिडियालाई स्वनियम लागू गर्ने छुट भएको प्रष्ट पारे । ‘आफ्नो नियम आफै बनाउने छुट मिडियालाई दिएका छौँ‘, मन्त्री बाँस्कोटाले भने, ‘त्यो भन्दा बाहिर गएर काम गरे कारबाही हुन्छ ।’ यस्तो कुरा गर्दा कतिपयले राज्यले पत्रकारको कलम थुत्न लाग्यौं । घाँटी नै थिच्न लाग्यौं भनेर आरोप लगाएका छन्। तर, त्यो होइन।’
सरकारप्रति आँखा चिम्लेर विश्वास गर भन्न नखोजेको उनले प्रष्ट पारे । ‘हामीले भन्न खोजेको हातमा कलम छ भनेर जात्रामा नाङ्गो तरबार लिएर बौलाएको जस्तो गर्नु भएन भन्ने हो ।’
एउटा समाचारले असल मान्छेको चरित्र हत्या गर्यो भने उसको के हुन्छ ? त्यसकारण अबको नेपालको मिडियाले आत्म समीक्षा गर्नु पर्ने बेला आएको उनले प्रष्ट पारे । आजको पत्रकारितालाई कुनै शासनको विरुद्ध लड्नु पर्ने आवश्यकता नभएको उनको भनाइ छ ।
‘मिथ्या पत्रकारिता गर्नेले मिडिया विधेयकबाट डराउनु पर्छ’, उनले भने, ‘तथ्यपरक पत्रकारिता गर्नेले डराउनु पर्दैन ।’ पत्रकारिता समाजको ऐना हो । ऐनाले जस्ताको त्यस्तै देखाउँछ । तर, त्यसले गडबड गर्यौ भने के हुन्छ ? उनले पत्रकारप्रति प्रश्न गर्दै भने।
अन्नपूर्णबाट































प्रतिक्रिया