खडेरीले सुक्न थाल्यो मकै

खडेरीले सुक्न थाल्यो मकै

केन्द्रबिन्दु
9
Shares

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पु¥याउने बताउनुभयो। झापामा महिनौँदेखि वर्षा भएको छैन। “सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन,” उनले भने, “तर, “सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना छ।”

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन। सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन्।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन्। ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ। निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन्। नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउनुहुन्छ। किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो। तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउछन्।

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन्। विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ। यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन्। कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो।

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुर्याएको छ। झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ। आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन्।

Skip This
Skip This
Logo