रवि भर्सेस गगनः दाजुभाइको २ दशकको सम्बन्ध चिसिएकै हो ? [भिडियाेसहित]

रवि भर्सेस गगनः दाजुभाइको २ दशकको सम्बन्ध चिसिएकै हो ? [भिडियाेसहित]

केन्द्रबिन्दु
15
Shares

नेपाली राजनीतिमा अहिले कसैको चर्चा छ भने ति व्यक्ति हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने र मुलुकको पुरानो पार्टी नेपाली कांग्रेसका महामन्त्री गगन थापा । राजनीतिक क्षेत्रमा प्रवेश गर्नुअगावै चर्चामा आइरहने रवि अहिले उपप्रधान तथा गृहमन्त्री रहँदा सहकारीको करोडौं रकम अपचलन सम्बन्धमा चर्चामा आएका हुन् । उनी मुछिएको यो प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति नबनाई संसद चल्न नदिने बटमलाइन अघि सारेको छ, त्यस मागका पहरेदार हुन्, महामन्त्री थापा । त्यसपछि चर्चामा आएको छ, उनीहरुको सम्बन्ध । उनीहरूको सम्बन्धको कुरा गर्ने हो भने, झन्डै साढे दुई दशक पुरानो हो ।

पूर्वहितैषी दुवै जना सञ्चारकर्मबाट राजनीतिमा उदाएका हुन् । रविले टेलिभिजन कर्म रोजे भने गगनले राजनीति रोज्दासम्म सम्बन्धले थप उचाइ लिएको थियो ।

२०७० सालमै रविलाई पार्टीमा भित्र्याउन चाहन्थे, गगन । समानुपातिक सूचीमा पार्टीको तर्फबाट उनले बनाएको प्रस्तावित १० जनाको सूचीमा एक थिए रवि । उनको प्रस्तावले स्पेस पाएको भए सम्भवतः रवि कांग्रेसका युवा नेताका रूपमा चिनिन्थे । गगन–रवि गठजोडले हुन सक्ने जोखिमको आँकलन गरे, कांग्रेस सभापति शेरबहादुर देउवाले । फलस्वरूप गगनको प्रस्तावलाई बेवास्ता गरे । राजनीतिक उचाइ लिँदै पार्टी महामन्त्रीमा निर्वाचित भए गगन । हुँदाहुँदा संसदीय दलको नेतामा सभापति देउवासँगै लडे । रवि पनि एकाएक राजनीतिमा हाफ फाल्दै नसोचेको नतिजा दिलाए । र संसदमा एकैपटक रास्वपाका २१ सांसद उभ्याए ।

गगनले रविलाई दाइ भन्छन् भने रविले गगनलाई भाइ । यी दुवै युवा नेताको चाहना मिल्छ । त्यो हो, आगामी निर्वाचनपछि प्रधानमन्त्री हुने । गगन भूतपूर्व प्रधानमन्त्रीहरूलाई बिदाइ गर्न चाहन्छन् । रवि प्रधानमन्त्रीका रूपमा मुलुकलाई नयाँ दिशा दिने चाहना व्यक्त गर्छन् । पछि पनि गगनले त घण्टी कांग्रेसको उपमा नै पाएका थिए ।

तर, पछिल्लोसमय दुवैको सम्बन्ध राजनीतिक वृतमा चिसिएको देखिन्छ । अहिले दुई नेताबीच आपसमा तेजोबध गर्ने कार्यमा सडकदेखि सदनसम्म वाकयुद्धमा उत्रेका छन् । एकले अर्कोलाई तथानाम चुनौती दिएका छन् । शुक्रबार संसदमा पनि यस्तै दृश्य देखियो । दुवै नेता संसद्मा भौतिक रूपमा आमनेसामने हुँदा बजेट अधिवेशनको पहिलो दिनमै संसद अवरुद्ध भयो । बैठकमा संसदीय छानबिन समितिको अडान राख्दै आएको कांग्रेस महामन्त्री थापाले कड्किँदै रविलाई प्रश्न गरे, ‘किन डराएको ? किन भागेको ? गल्ती गरेको छैन भने किन आत्तिएको ?’ त्यहाँ रविले त्यसको जवाफ दिन पाएनन्, सभामुखले बोल्न दिए पनि कांग्रेस सांसदहरूले घेराउ गरे । बोल्न पाएनन् ।

तर, बैठक बाहिर निस्केपछि भने उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविले रिस फेरे । आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरे । उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । त्यसलगत्तै सञ्चारकर्मीसँग गगनले चुनौती स्वीकार भने,‘पहिले काठमाडौं क्षेत्र नं ४ मा आउँछु भन्नुभयो । आउनुस् । बागमतीमा नुहाउँछु भन्नु भो । नुहाउनुस् ।’ उनीहरुको यो चुनौती पार्टीको एजेण्डा भन्दा व्यक्तिगत बढी देखिन्थो ।

यो जुहारी शुक्रबार मात्रै रहेन । शनिबार चितवन पुगेका गृहमन्त्री रविले सञ्चारकर्मीसँग सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको कांग्रससमेत सहभागी सरकारले भगाएको र भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताए । त्यसलगत्तै महामन्त्री थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका छन् । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको तथ्य र प्रमाणबारे दोहा्र्याए, ‘प्रमाण खोज्न कही जान पर्दैन । सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ । यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ । तपाईंहरूकै बहुमत छ गलत हुन् भनेर सावित गर्न चुनौती छ ।’

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । तर, पूर्वहितैषी दुवै जना यसरी एकआपसमा उत्रिनुले सम्बन्ध चिसिएको आंकलन गर्न सकिन्छ । तर, बारम्बार विवादमा तानिएकाले रवि नैतिक र कानुनी प्रश्नको घेरामा रहँदै आएका छन् । कांग्रेसको आजको पदाधिकारीहरूको बैठकले सरकारले संसद् पनि चल्न नदिने र संसदीय छानबिन समिति पनि बनाउन नदिने रणनीति लिएको निष्कर्ष निकालेको छ । संसदीय छानबिन समिति नबनाई संसद चल्न नदिने बटमलाइन अघि सारेको छ । खासमा भन्नुपर्दा संसदमा रवि भर्सेस कांग्रेसको अवस्था देखिएको छ । आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ । तर, यो गाँठो नफुक्नुले झनै अन्योलता छाएको छ ।

Logo