अब हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र

अब हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रदेश ३ को राजधानी हेटौंडाबाटै सवारी चालक अनुमतिपत्र नवीकरण तथा नयाँ दर्ता गर्न सकिने भएको छ । प्रदेश अन्तर्गतको यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले बुधबारबाट सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सुरु गरेको छ । ट्रायल सेन्टरको व्यवस्थापन हुने क्रममा रहेकाले नयाँ अनुमतिपत्रको लागि भने केही समय कुर्नुपर्ने बताइएको छ ।

संघीयता कार्यान्वयनपछि पहिलो पटक गत माघ ९ गतेबाट प्रदेश संरचना अनुसार सवारी दर्ता सुरु गरेको कार्यालयले सवारी चालक नवीकरणको काम भने भर्खर सुरु गरेको हो । बुधबार प्रदेश ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्री डोरमणि पौडेलले २६ जना सेवाग्राहीको सवारी अनुमतिपत्र नवीकरण गरी ‘स्मार्ट कार्ड’ वितरण सेवा शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले हेटौंडा–१, चौकीटोलका शिवकुमार थापालाई कार्यालयमार्फत पहिलो स्मार्ट लाइसेन्स प्रदान गरेका थिए । सेवाग्राहीले नवीकरणका लागि निवेदन दिएको ७२ घण्टाभित्रै यातायात व्यवस्था विभागसँग समन्वय गरी स्मार्ट लाइसेन्स प्रिन्ट गरी प्रदान गरिएको थियो । यसअघि हेटौंडा लगायत साविकको नारायणी अञ्चलका सेवाग्राहीहरू सवारी चालक अनुमतिपत्र नवीकरण तथा नयाँ बनाउनको लागि वीरगञ्ज पुग्नुपर्ने बाध्यता थियो । प्रदेश संरचना अनुसारको नम्बर प्लेट भएको सवारी दर्ता भने गत माघ महिनादेखि नै सुरु गरिएको छ ।

यातायात व्यवस्था विभागको चालक अनुमतिपत्र दर्ता तथा नवीकरण प्रणाली जोडिएपछि सवारी चालक अनुमति पत्र दर्ता तथा नवीकरण हेटौंडाबाटै गर्न थालिएको कार्यालयका प्रमुख पोषण थापाले बताए । आगामी आर्थिक वर्षबाट हेटौंडामै लाइसेन्स प्रिन्ट गर्ने गरी मास प्रिन्टर मेसिन खरिद प्रक्रिया अगाडि बढेको पनि थापाले सुनाए । तत्काललाई भने काठमाडौंबाटै स्मार्ट लाइसेन्स प्रिन्ट गरी हेटौंडाबाट वितरण गरिने उनले बताए ।
कारोबारबाट

Logo