आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : मासिँदै नेपालका मौलिक वनस्पति

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : मासिँदै नेपालका मौलिक वनस्पति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाईंदै छ । यो दिवस मनाईंरहँदा भने नेपालका मौलिक वनस्पति मासिँदै गएका छन् । यसप्रति विज्ञहरु चिन्तित रहेको पाइएको छ ।

यतिबेला हिमाली भेग डोल्पा लगायतका क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनको याम छ । बर्सेनि जथाभावी यार्सा सङ्कलन गर्दा यसको उत्पादकत्वमा भने ह्रास हुँदैछ ।
वनस्पति विज्ञ तथा प्राज्ञ तीर्थबहादुर श्रेष्ठले भन्नुभयो, “पहिले पहिले यार्साकै आम्दानीले स्थानीयको वर्षभरिको घरखर्च र स्कुलको खर्च धानिन्थ्यो, तर संरक्षण नगरी बढी दोहन गर्ने प्रवृत्तिले यार्सा लोप हुँदै जान थालेको छ ।”

उहाँका अनुसार, तराईमा पाइने जडीबुटी सर्पगन्धा अचेल निकै कम पाइन्छ । “जन्मदर नियन्त्रण गर्ने चक्की बनाइन प्रयोग हुने भ्याकुर अब जङ्गलमा कतै कतैमात्र पाइन्छ,” श्रेष्ठ थप्नुहुन्छ, “सुनगाभा र अर्किडका बिरुवा उमार्नुपर्ने अवस्थामा पुग्दैछन् ।” जडीबुटी सङ्कलनमा संरक्षणको नीति अवलम्बन नगरिँदा नेपालका मौलिक वनस्पति मासिँदै गएको उहाँ बताउनुहुन्छ ।

चुनौती थपिँदै

जैविक विविधताले भरिपूर्ण देश नेपालमा वनस्पति जस्तै वन, वन्यजन्तु, चराचुरुङ्गीको अवस्थामा समेत पछिल्लो समय चुनौती बढ्दै गएको छ । चराविद् डा. हेमसागर बराल भन्नुहुन्छ, “कतिपय चरा नेपालमा मात्र पाइन्छ तर बासस्थान र सही वातावरणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।”

नेपालमा पनि यस वर्ष ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ नारासहित अन्तर्राष्ट्रिय जैविक विविधता दिवस बुधबार विविध कार्यक्रम गरी मनाइँदैछ । तर नारासँगै संरक्षणको योजनामा विशेष ध्यान दिनुपर्ने योजनामा संलग्न र संरक्षणकर्मीहरू बताउँछन् ।

बाघको सङ्ख्या नेपालमा सन् २०२२ सम्म दोब्बर बनाउने योजना राष्ट्रिय निकुञ्ज विभागको छ । तर बासस्थानको कमी र आहारा प्रजातिको जनावरहरू मासिनाले बाघ मानव बस्ती पसिरहेका छन् । वनक्षेत्रको खण्डीकरणसँगै देखिएका विविध चुनौतीले बाघ, गैंडा लगायतका वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको छ, विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठ उल्लेख गर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयस्थित वनस्पति विज्ञान केन्द्रीय विभागका प्राडा प्रमोदकुमार झा नेपालको जैविक विविधता संरक्षण गर्न पहिलो काम बनेका योजनाको सही कार्यान्वयन हुनुपर्ने बताउनुहुन्छ । “चुरे संरक्षणमा कति धेरै लगानी भएको छ तर त्यहाँ वन विनाश र मानव बसाइ सराइ भइरहेकै छ,” उहाँले प्रस्ट्याउनुभयो, “त्यसको संरक्षणको योजना हुबहु कार्यान्वयनको वातावरण बनाउनुपर्छ ।”

एसियामा नेपाल ११ औँ स्थानमा

जैविक विविधताको हिसाबले नेपाल विश्वको २५ औँ र एसियाली क्षेत्रमा ११ औँ स्थानमा रहेको छ । नेपालको जैविक विविधता अन्तर्गत ११८ वन पर्यावरणीय प्रणाली, २०७ प्रजातीका स्तनधारी प्राणी, ८८७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १०० प्रजातिका सरिसृप, १८५ प्रजातिका माछा, ६५३ थरीका पुतली, तीन हजार ९६६ प्रजातिभन्दा माथि कीरा, पाँच हजारभन्दा बढी किटपतङ्ग छन् ।

त्यस्तै दुई सय प्रजातिका माकुरा, छ हजार बढी फूल फुल्ने वनस्पति, ४७१ प्रजातिको झ्याउ, एक हजार ८२२ प्रजातिको ढुसी, ३३८ प्रजातिको उन्यू, पाँच सय बढी प्रजातिको खानयोग्य अन्न बाली छन्, जसमा दुई सय प्रजातिको खेती नेपालमा हुने गर्छ ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo