उपेन्द्र यादवपछि अब प्रचण्ड सरकारबाट बाहिरिने पालो माधव नेपालको ? [भिडियाेसहित]

उपेन्द्र यादवपछि अब प्रचण्ड सरकारबाट बाहिरिने पालो माधव नेपालको ? [भिडियाेसहित]

केन्द्रबिन्दु
60
Shares

उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल पछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि लगभग प्रचण्ड सरकारबाट बाहिरिने निचोडमा पुगेको छ । केन्द्रमा मात्र नभई प्रदेश सरकारमा पनि नेकपा एसलाई एमाले-माओवादी केन्द्रले बेवास्ता गर्न थालेपछि माधव नेपाल सरकारबाट बाहिरिने अवस्थामा पुगेका हुन् । हुन त, आफूबाट टुक्रिएर बनेको एकिकृत समाजवादीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खासै रुचाएका छैनन् । ओलीको त्यो एक्सनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि मौन नै छन् ।

झट्ट हेर्दा माधव नेपाल गठबन्धनभित्रका पनि प्रतिपक्षजस्ता छन् । उनको निरन्तरको किचकिच र वैकल्पिक गठबन्धनका लागि भूराजनीतिक प्रयासले ओली र प्रचण्ड दिक्क भएका छन् । नेपाल र ओलीबीच भनाभन पनि भइसकेको अवस्था छ । अझ भनौं, अहिले त जनता समाजवादी पार्टी नेपाल फुटेका कारण नेकपा एसको बार्गेनिङ पावर पनि घटेको छ ।

एमालेकै अडानका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले अहिले सम्म विश्वासको मत लिन पाएका छैनन् । सोडारी नेतृत्व सरकारमा सहभागी हुन एमालेले आनाकानी गरेपछि ६ वैशाखमा मुख्यमन्त्री बनेका सोडारीले मन्त्रिपरिषद्लाई अहिलेसम्म पूर्णता दिन सकेका छैनन् भने अर्कोतिर विश्वासको मत लिन पटकपटक गरेको प्रयास असफल भएको छ । सोडारीले जेठ ४ गते भित्रै विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । अहिले फेरि जेठ ३ गते विश्वासको मत लिने गरी मुख्यमन्त्री सोडारी अगाडी बढेका छन् । तर, उक्त दिन पनि विश्वासको मत दिन सक्ने अवस्था नरहेको एमाले स्रोतको दाबी छ । सोडारीलाई एमाले अध्यक्ष केपी शर्मा ओली लेनै तत्काल विश्वासको मत नदिन निर्देशन दिएका छन् । कोशीमा नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिए एमाले सरकार ढल्ने अवस्था छैन तर, सुदूरपश्चिममा एमालेले नदिए सोडारीले विश्वासको मत पाउँदैनन् ।

हुन त ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा चार सिटे एकिकृत समाजवादीले पाएको थियो । एमाले सुरुदेखि नै तयार थिएन । माधवकुमार नेपाल बिच्किएपछि सत्ता गठबन्धन नै धरापमा पर्ने देखिएपछि एमाले एकिकृत समाजवादीलाई मुख्यमन्त्री दिन बाध्य बनेको थियो । तर, अहिले एकीकृत समाजवादी नहुँदा पनि सरकार जोगिने भएपछि माधवको मागमा प्रचण्ड र ओली टसमस हुने अवस्थामा छैनन् । अब सम्मानजनक बहिर्गमन रोज्ने की अपमानजनक बहिर्गमन भन्ने द्विविधामा माधव परेका हुन् । यो विषयमा छलफल चलिरहेको उच्च स्रोतको दाबी छ ।

एमाले, माओवादी, रास्वपा, फुटेको जसपा, नागरिक उन्मुक्तिले बहुमतको गणित पुग्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र विभाजित जसपाका ७ गर्दा १३८ जनाको बहुमत पुग्छ । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका २ जना जोड्दा १४० हुन्छ । माधव नेपालले अब सत्ता गठबन्धनमा प्रधानमन्त्रीको भाग पनि खोजिरहेको विषय बाहिरिरहेका बेला गठबन्धनले उनलाई पन्छाउन खोजेको प्रष्ट हुन्छ ।

प्रचण्ड र ओलीले यसअघि नै सरकारको गणित सुरक्षित राख्नको लागि यादव र नेपालको पार्टीविरुद्ध हदैसम्मको कठोरता अपनाउन सकिने चेतावनी दिइसकेका छन् । यसैको उदाहरण हो, जसपा नेपालको फुट । वैकल्पिक गठबन्धन निर्माणका लागि कांग्रेसले गरेको पहलमा हात लब्याउन खोजेका उपेन्द्रले पनि यही नियति भोगेका हुन् । दोस्रोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनामै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र आज मात्रै सरकारबाट बाहिरिएका छन् । तर, उनी चाहेर नभई प्रधानमन्त्री प्रचण्डको पेलानमा सरकारबाट बाहिरिएका हुन् । अब यही श्रृंखलामा माधव नेपाल पनि थपिएका छन् ।

Skip This
Skip This
Logo