भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सकिएको छ । तीन किलोमिटर लामो धावनमार्ग निर्माणको काम मंगलबार सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।

‘विमानस्थलको सबैभन्दा महत्वपूर्ण काम रनवे निर्माण हो, बर्खाअघि नै यो काम नसकिएको भए सन् २०१९ भित्रै विमानस्थल सम्पन्न गर्न गाह्रो हुन्थ्यो,’ महानिर्देशक गौतमले भने, ‘सहज रूपमा काम हुँदा निर्धारित समयमै विमानस्थल सञ्चालनमा आउँछ ।’ टर्मिनल भवन निर्माणको बाँकी काम र अन्य पूर्वाधारमा अब केन्द्रित हुने उनले बताए । तीन किलोमिटर लामो र ४५ मिटर चौडा धावनमार्ग पिच गर्ने काम ६ महिना अघिदेखि सुरु गरिएको थियो ।

समग्रमा विमानस्थलको ७२ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरण ठूला परियोजना इकाइका प्रमुख प्रदीप अधिकारीले बताए । उनले भने, ‘धावनमार्गको लगभग सबै काम सकिएको छ, लाइनिङ र लाइटिङ राख्ने बित्तिकै सम्पूर्ण काम सकिनेछ ।’ धावनमार्ग सकिएसँगै टर्मिनल भवनको स्ट्रक्चर सकिएको र अन्य पूर्वाधारका कामलाई तीव्रगतिमा अघि बढाउन लागिएको पनि जानकारी दिए ।

विमानस्थलको ट्याक्सी वे निर्माणको काम अन्तिम चरणमा पुगेको र अब एक लेयर पिच मात्र गर्न बाँकी रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo