भोजपुर । प्रतिवन्धित नेकपा कार्यकर्ता पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द विप्लव कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
प्रहरीले चलाएको गोलीबाट विप्लव कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए।
धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो। गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेको प्रहरी निरीक्षक राजवंशीको भनाई छ । अन्य कार्यकर्ता भने भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ। त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारेको छ ।































प्रतिक्रिया