सन्दीप लामिछानेले पाए सफाई

सन्दीप लामिछानेले पाए सफाई


क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

२०७९ भदौ २१ गते गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । साथै ३ लाख जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तर, उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । त्यसपछि मंगलबार र बुधबार दुवै पक्षको बहसपछि सन्दीपलाई निर्दोष ठहर गरिएकाे हाे ।

प्रहरीमा जाहेरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्न जमैका थिए । जाहेरी लगत्तै केही समय सम्पर्कविहीन सन्दीप असोज २० गते नेपाल फर्किँदा विमानस्थलबाटै पक्राउ परेका थिए। प्रहरी हिरासतमा राखेर अनुसन्धान गरी कात्तिक १५ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा पुर्पक्षका लागि सन्दीपलाई १८ गते थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई २०७९ पुस १८ गते देश बाहिर जान नपाउने सर्तसहित अदालतले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगेका थिए । दुवै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई क्रिकेट खेल्न विदेश जाने अनुमतिसमेत दिएको थियो । त्यसपछि भने गत वर्षको पौष २५ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपले पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाउँदै करणी गरेको देखिएको ठहर गरेको थियो ।

आजको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । विश्वकपका लागि सन्दीपविनाको नेपाली टोली अमेरिका पुगिसकेको छ ।

Skip This
Skip This
Logo