काठमाडौं । सांसदहरुले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अतहर कमाल मुसलमानले महिला नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै अमानवीय कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनकारी नर्सहरुको माग सम्बोधन गर्न माग गरे ।
सांसद अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग अबिलम्ब सम्बोधन गर्न माग गरे । सांसद अमरेश कुमार झाले सर्लाहीका चिनी मिलले उखु किसानलाई अहिले सम्म भुक्तानी नदिएको भन्दै तुरुन्तै उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।
सांसद आशा कुमारी विकले सेती लोकमार्गको उत्तर खण्ड, चैनपुर –ताक्लाकोट अन्र्तगतको चैनपुर रुवातोलाखण्डको निर्माण कार्य सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । सांसदहरु शिक्षक अभावका कारण विद्यालयको पठनपाठन प्रभावित बन्ने अवस्था हुन नदिन र आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद एकवाल मियाँले मुलुकका अन्य स्थानमा जस्तै सर्लाही जिल्लामा पनि उखु मिलले किसानलाई भुक्तानी नदिएको र भुक्तानीको माग गर्दे जिल्लामा आन्दोलन भएकाले उखु किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले बारा जिल्लामा हुरी बतासबाट भत्किएका घरको सर्भेका क्रममा केही घर छुटेको हुनाले ती घरहरु पनि समावेश गर्न माग गरे ।
सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गरे उनले प्रश्न गरे, “कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ? ९५ प्रतिशत सम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेशसँग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ? यस्तो गम्भीर विषयमा अध्ययन गर्ने भनेर सरकारले नीति कार्यक्रम राखेको छ । सम्बन्धित प्रदेशलाई समेत ध्यान दिएर यसको जवाफ तुरुन्तै आउनेछ भन्ने मैले अपेक्षा गरेको छु ।”
सांसद गजेन्द्र बहादुर महतले जुम्लाको गुठीचौर गाउँपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने तत्कालिन मालपोत कार्यालयका हाकिम गोविन्द न्यौपानेले मुद्धा लम्ब्याउन चलखेल गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, “जुम्ला जिल्लाको गुठीचौर गाउपालिका भित्रको ३ लाख वर्ग मिटर जग्गा २०६६ सालमा माल कार्यालयको हाकिम गोविन्द न्यौपानेले आफ्नो, परिवार र नातागोताको नाममा दर्ता गरेको विषय २०७२ सालमा थाहा भएको र तात्कालिन सिडियोले सो जग्गा र्किते भएको भन्दै २०७३ माघ १० गते अख्तियारमा पठाएको भएपनि यतिबेला सम्म सो मुद्धाको सुनुवाई नभएको भन्दै । त्यत्तिबेलाका माल कार्यालयका हाकिमले अहिले अख्तियार कर्मचारीलाई भेट्ने र मुद्धालाई लम्ब्याउने तर्रखरमा छन् भन्ने सुनेका छौ । यसको चाँडो निर्णय होस् ।”
सांसद घनश्याम खतिवडाले बाली लगाउने समयमा मल अभाव भएको र वास्तविक किसानले अनुदान पाउन नसकेको भन्दै किसानको जीवन स्तर उठाउने कार्यक्रम बनाउन र मलको आपुर्ति सहज बनाई किसानलाई अनुदान समयमै पुर्याउन कृषिमन्त्रीको ध्यानाकर्षण गराए ।































प्रतिक्रिया