काठमाडौं,
भूकम्पपछि नक्सालस्थित बालमन्दिरका एक सय २८ अनाथ बालबालिकालाई टहरोमा राखिएको छ । नेपाल बाल संगठनको स्वामित्वमा रहेको मालीगाउँस्थित पक्की भवनमा भने प्रहरी कार्यालय सार्ने तयारी गरिएको छ ।
शिक्षाका लागि खाद्यान्न कार्यक्रम सञ्चालित मालीगाउँको पक्की भवनमा कमलपोखरी प्रहरी वृत्त सार्न लागिएको हो । भूकम्पले बालमन्दिरको मुख्य भवन भत्किएपछि मालीगाउँको भवनमा बालबालिकालाई सार्न खोजिएको थियो । तर त्यहाँ बालबालिकालाई सार्न दिइएन । त्यसैले आश्रित बालबालिकालाई बालमन्दिर परिसरमा प्रि–फ्याबको टहरोमा राखिएको छ । तर अहिले त्यही भवनमा प्रहरी कार्यालय सार्ने निर्णय भइसकेको छ ।
कमलपोखरीबाट वृत्त कार्यालय हटाउनु पर्ने अवस्था आएपछि नेपाल प्रहरीले यस्तो निर्णय गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘कमलपोखरी विस्तार गर्नुपर्ने भएकाले त्यहाँबाट वृत्त कार्यालय सार्नुपर्ने भयो । वृत्तका लागि कार्यालय खोज्दै जाँदा मालीगाउँस्थित शिक्षाका लागि खाद्यान्न परियोजना सञ्चालन हुँदै आएको घर भेटियो । त्यही घरमा वृत्त कार्यालय सार्ने निर्णय भएको छ,’ उनले भने ।
भवन रहेको जग्गाको क्षेत्रफल चार रोपनी भन्दा धेरै छ । २८ वर्षदेखि त्यो भवनमा शिक्षा मन्त्रालयले शिक्षाका लागि खाद्यान्न परियोजना चलाउँदै आएको छ । बालबालिकालाई टहरोमा राखेर संगठनको भवनमा प्रहरी कार्यालय सार्नु गलत भएको बाल संगठनका कोषाध्यक्ष रामकृष्ण कँडेलले बताए । ‘शिक्षा मन्त्रालयले बहुदल आएदेखि नै हाम्रो भवन प्रयोग गर्यो । यसबापत संगठनलाई मन्त्रालयले केही दिएको छैन,’ उनले भने ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया