हुन्डाईले खोल्यो नेपालमा गाडी ‘एसेम्बलिङ’को ढोकाः सयौंलाई रोजगारी, मूल्य पनि सस्ताे [भिडियाे]

हुन्डाईले खोल्यो नेपालमा गाडी ‘एसेम्बलिङ’को ढोकाः सयौंलाई रोजगारी, मूल्य पनि सस्ताे [भिडियाे]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेसनले लामो समयदेखि हुन्डाईका विभिन्न मोडलका गाडीको बिक्री गर्दै आएको छ । तर, अब भने उक्त कम्पनीले नेपालमै हुन्डाई गाडीको एसेम्बल गरी बिक्री गर्ने सुरुवात गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा हुन्डाईले नवलपरासीको परासीमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएसँगै यो कार्यको पनि सुरुवात गरेको हो । हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा आएसँगै उक्त प्लान्टबाट तयार भएको पहिलो हुन्डाई भेन्यु कार पनि सार्वजनिक भइसकेको छ ।

नेपालमै एसेम्बल गरेर उत्पादन भएको यो कारलाई कम्पनीले ‘मेड इन नेपाल हुन्डाई भेन्यु’को नाम दिएको छ । हुन्डाई भेन्यु नेपालमा तयार भएकाले यस कारलाई उक्त नाम दिइएको कम्पनीले बताएको छ ।

नेपालमै पहिलो पटक सवारी साधन उत्पादन गर्नका लागि एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउने हुन्डाई विश्व प्रख्यात ब्रान्ड पनि हो । नेपाली अटो बजारमा पनि ठूलो हिस्सा ओगट्न सफल हुन्डाई प्लान्ट सञ्चालनमा आएसँगै अटो क्षेत्रमा ‘कोसेढुङ्गो’ सावित हुन सक्ने देखिन्छ । यसअघि हुलास मोटर्सले मुस्ताङ नामक गाडी नेपालमै एसेम्बली प्लान्टमार्फत उत्पादन गरी बिक्री गरेको थियो । उक्त गाडीले चर्चा पाउनुका साथै, व्यापार पनि राम्रो गर्याे । यद्यपि उक्त प्लान्ट विविध कारणले गर्दा बन्द भएको थियो ।

अहिले भने चार पाङ्ग्रे सवारी साधन तयार गर्नको लागि हुन्डाईले प्लान्ट सञ्चालनमा ल्याएसँगै नेपालमा अरू गाडीका कम्पनीले पनि एसेम्बल प्लान्ट खोल्ने सम्भावना बढेको देखिन्छ । उक्त एसेम्बल प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए । नेपाली बजारमा हुन्डाईका सवारी साधन उपलब्ध गराउँदै आएको लक्ष्मी मोटर कर्पोरेसन व्यावसायिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो ।

हुन्डाईले विश्वका विभिन्न देशमा यस्ता एसेम्बलिङ प्लान्ट बनाई गाडीको उत्पादन गर्दै आएको छ । भारतबाट गाडीको आयात गरी गाडी बिक्री गर्दै यो कम्पनीले आगामी दिनमा हुन्डाईका अन्य विभिन्न मोडलका गाडी पनि एसेम्बल गर्दै अगाडी बढ्ने लक्ष्य राखेको छ ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले निर्माता कम्पनीले उत्पादन गरे जस्तै गाडीहरु यो प्लान्टमार्फत गाडीको उत्पादन हुने बताए । उनका अनुसार कम्पनीले निर्माता कम्पनीले उत्पादन गरेका सबै गाडी भविष्यमा नेपालमै उत्पादन गर्ने योजनाका साथ प्लान्टको स्थापना भएको छ ।

एसेम्बल प्लान्ट करिव १० बिघा क्षेत्रफलमा फैलिएको छ भने प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । सो प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको काम भइरहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्न सकिने छ । सुरुवाती अवस्थामा सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै कम्पनीले नेपालमा गाडी एसेम्बल गर्ने छ । तर, बिस्तारै नेपालमै कम्पनीले पार्ट्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । प्लान्टभित्र मेन एसेम्बल लाइन, सब एसेम्बल लाइन, टेस्ट लाइन, १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक, वाटर सावर टेस्ट बुुथ र फाइनल इन्स्पेक्सन जस्ता एसेम्बली फ्यासिलिटी रहेका छन् ।

त्यसैगरी ट्रेनिङ रुम तथा कारको क्वालिटी इन्स्पेक्सनका लागि अडिट रुम पनि रहेको छ । कारको गुणस्तलाई कायम गर्नको लागि प्रत्येक सवारी साधन उत्पादन भएपछि यसको गुणस्तरको बारेमा जाँच गरी प्रत्येक १० मध्ये १ कारको रिपोर्ट हुुन्डाईको मुख्य कार्यालयमा पठाउनु पर्ने पनि कम्पनीको भनाइ छ ।

वर्तमानमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई १० एनआईओएस, आइ२०, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् । यी गाडीका मूल्य ३ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रहेका छन् । एसेम्बल प्लान्ट सञ्चालनमा आएपछि उक्त क्षेत्रका आसपासका स्थानीय साथै धेरै नेपालीले पनि रोजगार पाउने बताइएको छ । हुन्डाईको सो प्लान्टमा पहिलो चरणमा २ सय र दोस्रो चरणमा ५ सय जनाले काम पाउन सकिने बताइएको छ ।

एसेम्बलपश्चात् हुन्डाईका गाडीको मूल्य सस्तो होला ?

नेपालमै हुन्डाईका गाडी एसेम्बल सुरु हुन थालेपछि यी गाडीको मूल्यमा पनि कमी आउने अपेक्षामा आम उपभोक्ता छन् । नेपालमा नै यसको उत्पादन सुरु हुन थालेपछि मूल्यमा पनि केही सस्तो पर्ने आश हुनु स्वभाविक हो । कम्पनीले हाल नेपाली बजारमा उपलब्ध हुन्डाई भेन्युको बेस मोडलको मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकेको छ । यद्यपि गाडीको मूल्य सस्तो हुने विषयको औपचारिक खुलासा भने कम्पनीले गरेको छैन । तर, एसेम्बल सुरुवात भएसँगै गाडीको मूल्यमा पनि कमी आउने सम्भावना देखिन्छ ।

Logo