काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र कानुन व्यवसायीबीच झडप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ललितपुर जिल्ला बार एसोसिएसनका कार्यसमिति सदस्य चिरन्जीवी ढकाललाई अदालतले दिएको आदेश विपरित पुनः पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । तर प्रहरीले उनलाई अदालतको गेट अगाडिबाट पक्राउ गरेको हो ।

राजनीतिक आस्था र विचारका आधारमा कसैलाई पनि पक्राउ गर्न नपाइने आदेशमा उल्लेख छ । ‘विप्लव समूहसँग राजनीतिक आस्थासम्म राखिएको भन्ने देखिएको कुनै पनि तत्काल प्रमाणबाट सरकारप्रति घृणा द्वेष फैलाउने प्रकृतिका कार्य नगरेको भन्ने देखिन आएको हुँदा साधारण तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नु,’ आदेशमा भनिएको छ ।

ढकाललाई पुनः पक्राउ गर्नु पर्ने कारणसहितको पक्राउ पूर्जी दिएर मात्रै पक्राउ गर्न भन्दा प्रहरीले धरपकड गरेको र चार जना कानुन व्यवसायी घाइते भएको ललितपुर बार एसोसिएसनका कार्य समिति सदस्य तथा अधिवक्ता चन्द्र गुरागाईले बताए । उनका अनुसार घाइते हुनेमा ललितपुर बारका उपाध्यक्ष रूपबहादुर सारू, सदस्यहरू कान्तिराम ढुंगाना, नानीछोरी महर्जन र भवेश्वर पौडेल रहेका छन् । प्रहरीले झडपका क्रममा मिनबहादुर वाइवा र प्रविण मिश्र लगायतलाई पक्राउ गरेको छ ।

त्यस्तै ललितपुर बार एसोसिएसनका अध्यक्ष दीपककुमार बिष्टले ढकाललाई प्रहरीले अदालतको गेट अगाडिबाटै पक्राउ गरेर कानुनी राज्य र विधिको शासनको खिल्ली उडाएको आरोप लगाए ।
नयाँ पत्रिकाबाट

Logo