आकासियो हरियो तरकारीको भाउ

आकासियो हरियो तरकारीको भाउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

बजारमा हरियो तरकारीको भाउ आकासिएको छ । गतवर्षको यसै अवधिको तुलनामा हरियो तरकारीको प्रतिकिलो थोक मूल्य ५० देखि ७० रुपैयाँ महँगिएको छ । खुद्राको भाउ झनै अनिन्त्रित बनेको छ । मागको तुलनामा तरकारीको आयात र उत्पादन कम भएका कारण भाउ आकासिएको हो।

वैशाखको सुरुमा नै ठूलो वर्षा र असिनाले तरकारीखेती नष्ट गरेको छ । बोटबिरुवा नष्ट हुँदा तरकारीको उत्पादनमा कमी आएको छ । यस्तै भारतमा सुरु भएको विधानसभाको निर्वाचनका कारण उताबाट पनि आयात घटेको छ । निर्वाचनका कारण भारतमै तरकारीको मूल्य उच्च छ ।

गोलभेंडा, काउली, भान्टा, बोडी, घिउसिमी, करेला, परवर, भिण्डी, ब्रोकाउली, चम्सुर साग र रायो सागलगायतको मूल्य उच्च बनेको छ । काभ्रेका तरकारी उत्पादक किसान लक्ष्मण हुमागाईका अनुसार वैशाखदेखिको असिनापानीले तरकारीका बोटबिरुवा गलेर नष्ट भएका कारण उत्पादनमा कमी आएको छ । उत्पादन भएको तरकारीको मूल्य पनि खुद्रा व्यापारीले बढाएको हुमागाईले जानकारी दिए ।

धादिङका तरकारी किसान पविन्द्र श्रेष्ठले वर्षा र असिनापानीले तरकारीबाली नष्ट हुँदा त्यसको प्रभाव राजधानीको बजारमा परेको बताए । गतवर्षको जेठ २ गते प्रतिकेजी ४५ रुपैयाँ खुद्रा मूल्यमा बिक्री भएको गोलभेंडा यो वर्ष एक सय ४० रुपैयाँमा पुगेको छ । कालिमाटी बजारमा भने प्रतिकिलो एक सय पाँच रुपैयाँमा कारोबार भएको छ । कालिमाटी बजारमा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली बाहिरी बजारमा एक सय ३० मा बिक्री हुन्छ ।

यस्तै ७५ रुपैयाँ पर्ने बोडी खुद्रा पसलमा एक सय १५ रुपैयाँमा बिक्री भइरहेको छ । ८५ रुपैयाँ प्रतिकिलो कायम भएको घिउसिमी बाहिरी बजारमा एक सय २० रुपैयाँमा बिक्री गरिएको छ । यस्तै ८५ रुपैयाँकै करेला र परवरको बाहिरी बजारमा एक सय ३० रुपैयाँसम्म खुद्रा व्यापारीले मूल्य असुल गरेका छन् । आमउपभोक्ताले अत्याधिक रुचाउने रायो साग र चम्सुर साग भने छुनै नहुने गरी उच्च मूल्यवृद्धि भएको छ । कालिमाटी बजारमा ती दुवै सागको खुद्रा मूल्य एक सय पाँच रुपैयाँ कायम भएको छ। तर बाहिरी बजारमा ती दुवै साग एक सय ४० देखि एक सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo