काठमाडौँ,
आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् ।
चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्ष मुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशु मध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ ।
आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्य रुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनु, आँखाको डेढोपना देखिनु यसका लक्षणहरू हुन् । उनीहरूका अनुसार आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गर्दा यो रोग पत्ता लगाउन सकिन्छ । लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यसको उपचार गरिन्छ । ढिलो भएमा आँखाको डल्लो नै निकाल्नुपर्ने हुन सक्छ ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत भन्नुहुन्छ– ‘गाउँघरका धेरै बिरामी सुरुमा सामुदायिक आँखा केन्द्र जाने भएकाले जिल्लास्थित तिनै केन्द्रमा यसबारे जनचेतना फैलाउनु पर्दछ । साथै विद्युतीय सञ्चारमाध्यम प्रयोग गरी आँखा बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्नु पर्दछ ।’
आँखाको क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारका अनुसार वार्षिक ३५ देखि ४० जना नयाँ बिरामी आउँछन् । पहिले शल्यक्रिया नै गर्नुपर्दथ्यो अहिले नयाँ प्रविधिको प्रयोग गरी बिना शल्यक्रिया उपचार गरिन्छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया