काठमाडौँ,
एसिड प्रहारबाट घाइते दोलखा डाँडागाउँ माकु–४ की २० वर्षीया जेनी खड्काको स्वास्थ्य अवस्था चिन्ताजनक छ । सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध–४ फूलबारीका विष्णु भुजेलले जेनीलाई बुधबार साँझ कालोपुलमा एसिड प्रहार गरेका थिए । जेनी भुजेलकी कान्छी श्रीमती रहेको अनुसन्धानबाट खुलेको छ ।

एसिडबाट जेनीको अनुहार, हात र शरीरका विभिन्न भाग जलेका छन् । उनको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड वर्न सेन्टरको सघन कक्षमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जेनी बोल्न सक्ने अवस्थामा छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बोल्न सक्ने अवस्था नभएपछि घटनाको विस्तृत विवरण लिन नसकिएको बताए ।
‘जेनीको अवस्था चिन्ताजनक छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् । अस्पतालको सघन कक्षमा उपचार भइरहेकाले घटना सम्बन्धमा थप जानकारी लिन सकिएको छैन । पीडकमाथि अनुसन्धान जारी छ,’ उनले भने ।
घटना योजनाबद्ध प्रहरी
‘घटना योजनाबद्ध ढंगले भएको देखिन्छ । अनुसन्धान हुँदै छ । पीडितसँग अझै बयान लिन सकिएको छैन । एसिड प्रहार जघन्य अपराध हो । हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ,’ अनुसन्धानमा खटिएका परिसरका प्रवक्ता डिएसपी बोगटीले भने । प्रहरीका अनुसार विष्णुको जेठी श्रीमतीसँग पनि सम्बन्ध राम्रो थिएन । दुःख दिएकै कारण उनी पनि माइत बस्थे गर्थिन् । माइतीकै सहयोगबाट उनी हाल वैदेशिक रोजगारीमा छिन् । उनीहरूको आठ वर्षको छोरा छ । प्रहरीसँगको बयानमा विष्णुले जेठीसँग सम्बन्ध विच्छेद भइसकेको बताएका छन् ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया