ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै

केन्द्रबिन्दु
12
Shares

ललितपुर । ललितपुरमा २५ हजार चार सय ४९ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपिभी’ खोप लगाइने भएको छ। यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने खोप अभियानमा २५ हजार चार सय ४९ बालबालिकालाई आइपिभी खोप लगाइने जनाइएको हो।

स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले यही जेठ १३ गतेदेखि २६ सम्म सञ्चालन हुने अभियानमा २०७३ देखि २०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप दिने तयारी भएको बताए।

“ललितपुरका छ स्थानीय तहका बालबालिकालाई १३ गतेदेखि खोप लगाइन्छ। नियमित खोप अभियान पनि सञ्चालन हुने कोञ्ज्योसोम गाउँपालिकामा १४ गते र महाँकाल गाउँपालिकामा १६ गतेदेखि सुरु हुनेछ। बागमती गाउँपालिका, ललितपुर महानगरपालिकाका साथै गोदावरी र महालक्ष्मी नगरपालिकामा १३ गतेदेखि नै सुरु हुनेछ”, अधिकृत कार्कीले भने।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले विद्यालयमा खोप अभियान सञ्चालनका लागि शिक्षा समन्वय एकाइमार्फत विद्यालय तथा निजी अस्पतालसँग समन्वय गर्न आग्रह गरे। उनले नियमित खोप लगाउन छुटेकाहरू फेरि यो अभियानमा पनि छुटे भने त्यसले नकारात्मक असर पार्ने भन्दै खोप लगाउन छुट्दा उत्पन्न हुने समस्याबाट सृजना हुने अवस्थाको अन्त्य गर्न आपसी समन्वय गर्नुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारीले ललितपुरलाई पोलयोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न र स्थानीय तहसँग समन्वय र प्रचारप्रसारलाई प्रभावकारी बनाउन आग्रह गरे।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभीको अभाव हुँदा नेपालमा उपलब्ध नभएको बताउनुभयो। खोप अभावका कारण यसअघि देशभरका कतिपय बालबालिका खोपबाट बञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटकमा १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था सरकारले गरेको। सो अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप दिने व्यवस्था गरिएको उनले बताए।

डब्लुएचओका प्रतिनिधि डा निमेश खतिवडाले नेपालमा अझैसम्म पनि चार प्रतिशत बालबालिकाले कुनै पनि खोप पाउन नसकेको अवस्था रहेको र १६ प्रतिशतले आंशिक खोप पाउन सकेका जानकारी दिए। “विसं २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मेका बालबालिका अहिले पाँच वर्ष आठ महिनादेखि आठ वर्ष एक महिनासम्मका उमेरका भएका छन्। उनीहरूलाई नियमित खोप अभियानमा दिन बाँकी रहेको आइपिभी खोप अहिले अभियान सञ्चालन गरेर दिनुपरेको हो”, उनले भने।

Logo