काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउन बनेको कार्यदलको बैठक आज पनि बस्दैछ।
दिउँसो बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकअघि नै कार्यदलमा सहमति जुटाएर सहजरुपमा संसद् खुलाउने प्रयास भइरहेको कार्यदलमा संलग्न नेताहरूले जनाएका छन्। कानूनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलको बैठक अहिले बिहान साढे ८ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलका एक सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले जानकारी दिए।
हिजो निष्कर्षविहीन भएको बैठक आज फेरि बस्दैछ। हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन। सत्ता पक्षले छानबिन समितिको कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्न नमिल्ने भनेको छ भने विपक्षी दलले नाम उल्लेख नगरी छानबिन समिति बनाउनुको अर्थ नहुने भन्दै आएको छ।
कांग्रेसले बजेट अधिवेशन सुरु भएयताका सबै बैठकमा संसद् अवरुद्ध पार्दै आएको छ। कार्यदलले सहमति नजुटाए आज पनि संसद् अवरुद्ध पार्ने कांग्रेसको तयारी छ।
कार्यदलमा कानूनमन्त्री गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खनाल सदस्य छन्। यस्तै, कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि कार्यदलको बैठकमा सहभागी भइरहेका छन्।





























प्रतिक्रिया