कांग्रेसपछि अब नेकपा गाउँगाउँ जाने, एकताको सन्देश दिईने

कांग्रेसपछि अब नेकपा गाउँगाउँ जाने, एकताको सन्देश दिईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएको छ । २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि अभियान लिएर जान नसकेको नेकपाले एकता लगत्तै अभियान लिएर जनताबीच जान लागेको हो ।

पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनको एकतालगत्तै देशभर राष्ट्रिय अभियान लिएर नेताहरू गाउँ तहसम्मै जाने महासचिव विष्णु पौडेलले जानकारी दिए । नेकपाले गतवर्षको जेठ ३ मा पार्टी एकतापछि एकताको सन्देश र सरकारको नीति तथा कार्यक्रम जनताबीच सम्प्रेषण गर्ने उद्देश्यले विशेष अभियान चलाउने निर्णय गरेको थियो। तर त्यो अभियान अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

फेरि पनि त्यो अभियान चलाउनैपर्नेमा नेताहरु पुगेका छन् । पार्टीले अब छिट्टै अभियान चल्ने महासचिव पौडेलको भनाइ छ। ‘अब ढिलो हुँदैन, २ महिना, ३ महिना कति समयको हुन्छ, हामी अभियान लिएर जनताबीच पुग्दै छौं’ उनले भने ।

पुसमा बसेको स्थायी समिति बैठकले पनि अभियान चलाउने निर्णय गरेको थियो । अध्यक्षद्वयको राजनीतिक दस्तावेजमा पार्टीको आगामी कार्यक्रम उपशीर्षकमा समेत राष्ट्रिय अभियानका दुईमहिने योजना समाविष्ट थिए।

पार्टी एकताको सन्देश आम जनताबीच सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति र योजनालाई सार्वजनिक रूपमा स्थापित गर्न र लाखौं जनतालाई पार्टीको वरिपरि गोलबद्ध गर्न माघ र फागुनमा विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरेको थियो।

Logo