काठमाडौं । हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ। नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो।
नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ। सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ। भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताए।
पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपािलकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ। हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ। नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ।
सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयमंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ। पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पुर्याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ।
मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ। स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ। हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ। नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पुर्याइरहेका छन्।
आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उनीहरुले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठूलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउछन्। राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ।
नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ। नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ। पालिकास्तरको १५ शैय्याको अस्पताल निर्माण अन्तिम चरणमा छ। डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ।
पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। यस पटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ। मनोविद् पद्मप्रसाद घिमिरे भन्छन्, “स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ।”































प्रतिक्रिया