ललितपुर
ललितपुरको बखुम्बहाल चोकबाट केही मिनेटमै पुगिन्छ- सत्यमोहन जोशीको घर । शुक्रबार मध्याह्न १२ बजेतिर उनको घर पुग्दा जोशीकी श्रीमती राधादेवी आराम गरिरहेकी थिइन् । साथमा थिइन् उनकी बुहारी ।
कार्यक्रमका लागि सत्यमोहन बाहिर गएका थिए । त्यसैले उनी करिब डेढ बजेतिर घर फिरे । उनलाई घरमा भेट्न आउनेहरूको भीड थियो । घरबाहिर देखिएको त्यो भीडले स्पष्ट संकेत गथ्र्यो— सत्यमोहनलाई भ्याइनभ्याइ छ ।
जोशी सोमबार सय वर्ष पुग्दै छन् । तर पनि उनको सामाजिक सक्रियता घटेको छैन । झनै बढेको पो छ । प्रत्येक दिनजसो उनी विभिन्न कार्यक्रममा गइरहन्छन् । स्वस्थ छन् । खानपिनमा पनि बार्नु पर्ने त्यस्तो केही छैन । सामान्य आहार गर्छन् । त्यति मात्र कहाँ हो र, दिन बिराइ खसीको मासुसमेत खान्छन् । उनको स्वस्थताको के हो त राज ?
‘स्वस्थ र दीर्घजीवन बाँच्नेले चिन्ताको भारी बोक्न हुँदैन’, उनी भन्छन्, ‘चिन्तन गर्ने, तर चिन्ता नगर्ने । चिन्ताले रोग ल्याउँछ । मनमा असन्तोष बढ्छ ।’ अझैपनि उनको अघिपछि मिडिया लागिरहेकै हुन्छन् ।
उनलाई आफ्नो अनुहार चाउरी नपरे पनि भित्री अवस्था भने चाउरी परे जस्तो लाग्छ । ‘अरूले तारिफ गरेर मात्रै कहाँ हुन्छ’, उनले भने, ‘मेरो शरीरको कुरो मलाई थाहा छ ।’
लामो आयु मात्रै हुनु बेकार लाग्छ उनलाई । जबसम्म मान्छेको चेतनाले काम गर्छ, त्यति बाँच्नु राम्रो रहेको उनको भनाइ छ । ‘मज्जाले खान सक्ने तर केही गर्न नसक्ने भएर बाँच्नु हुन्न’, उनले भने, ‘अरूको सहारामा बाँच्नुको के अर्थ ? जबसम्म मान्छेको बोली र ज्ञान हुन्छ । सत्य–असत्य, राम्रो–नराम्रो थाहा पाउँछ, आफूले के गर्दै छु भन्ने थाहा पाइन्जेल मात्रै जिउनु राम्रो हो ।’
आफू बाँच्दा अरूलाई भार दिन नहुने उनको भनाइ छ । चिन्तन मननका लागि ‘जुरेली’को दर्शन अवलम्बन गरेको र साधारण जीवनयापनमा आफू रमाइरहेको उनले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया