नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन् ।
कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन् । शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवं अन्तर्क्रिया कार्यक्रममा उनले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारवाहीको दायरामा आउनुपर्ने बताइन् ।
‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी)राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गर्नुभएको छ तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सीआईबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधै कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक रहेको स्पष्ट छ । त्यसको छानविन हुनुपर्छ,’ उनले भनिन् ।
त्यस्तै, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशित भइसकेकाले यसको स्पष्ट छानविन हुनुपर्नेमा उनको जोड थियो ।
डा. संग्रौलाले सरकारले भर्खरै ल्याएको ठूलो आकारको बजेटले आर्थिक बृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताइन् । उनले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताइन् ।
समृद्ध एवं समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा.संग्रौलाले प्रतिपक्षमा बसेर जनताका भावना र चाहना बोलिरहने प्रतिबद्धता जनाइन् । जनता र जनजीविकाका सवालमा कांग्रेसले काम गर्नुपर्ने उनको भनाइ छ ।
सत्ता गठबन्धन विधि, कानून र प्रक्रिया मिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनी दिइन् । उनले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन् ।
नेपालगन्ज सुर्खेत हुँदै कर्णालीका जिल्ला भ्रमणमा रहेकी डा.संग्रौलासँगै पूर्वमन्त्री एनपी साउद, केन्द्रीय सदस्य अब्दुल सतार, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह छन् ।





























प्रतिक्रिया