धनुषा । निर्मला यादवको हत्याको रहस्य खुलेको छ । धनुषाको शहिर नगरपालिका १ पुरवारी टोल चिरैयाका मुकेश गोईतले गत बैशाख ५ गते श्रीमती निर्मलाको शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए । मुकेशले भाउजूसँगको प्रेम सम्बन्धलाई लुकाउन आगो लगाएर आफ्नै श्रीमतीको हत्या गरेको रहस्य खुलेको हो ।
घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो। जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको थियो । उपचारका क्रममै वैशाख १६ गते निर्मलाको ज्यान गएको थियो । विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।
निर्मलासँग विवाह भएको १० महिना नबित्दै मुकेशले उनलाई जलाएका हुन् । श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्। निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए।
मुकेशका दाजु नागे लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध थियो ।
एक दिन निर्मलाले देवर भाउजुलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान श्रीमतीबीच विवाद सुरु भएको थियो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो । तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् ।
घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।
मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधेकी थिईन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका थिए । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेका थिए । श्यामादेवीको भनाईपछि मुकेश श्रीमतीलाई नै आगो लगाउन तयार भएका हुन् ।
श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको एसपी खनालको भनाई छ । तर, उनी भाग्न सफल भए । प्रहरीले मुकेशलाई कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो ।































प्रतिक्रिया