काठमाडौं,
विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई विद्यालयले पढाइबाट वञ्चित गरेको पाइएको छ ।
नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ ।
तामाङ गतवर्ष सोही स्कुलमा ‘प्ले ग्रुप’ मा भर्ना भएका थिए । यस वर्ष भने विद्यालयले पढाउन नमानेपछि अहिले परिवार समस्यामा छन् । बाबुले अर्कै श्रीमति लिएर गएपछि एक्लिएकी आमासँग बस्दै आएका तामाङको आर्थिक अवस्था कमजोर छ । गरिब परिवारकै भएका कारण तामाङकी आमा घरेलु कामदारका रूपमा भीमसेनगोलाकै जनार्दनकृष्ण श्रेष्ठको घरमा काम गर्छिन् ।
तामाङको पढाइ खर्च पनि श्रेष्ठले नै बेहोरिरहेका छन् । श्रेष्ठले भने, ‘प्ले ग्रुपमा मासिक १८ सय रुपैयाँ तिरेर गत वर्षदेखि पढाइरहेको छु । तर पढाइमा राम्रो हुँदाहुँदै स्कुलले चकचक गरेको आरोपमा पढाउन सक्दिनँ भनेपछि म चकित भएँ ।’ सुरुमा तामाङलाई पढाउन स्कुल लैजाँदा शिक्षक नआएकाले पढाइ सुरु नभएको बताउँदै घर फर्काउने गरेको थियो ।
‘विद्यालय गएर बुझ्दा त बाबुलाई पढाउन सक्दिनँ पो भन्यो’, श्रेष्ठले भने, ‘बच्चालाई पढाएर ज्ञानी बनाउँछु भन्ने लक्ष्य बोकेको स्कुलले नै पढाउन सक्दिनँ भन्छ भने गरिब परिवारका छोराछोरीले कहाँ पढ्ने ? ’
निजी विद्यालय सञ्चालकले विद्यार्थीलाई स्तरीय शिक्षा दिएको दाबी गरेका छन् । तर नर्सरीमा पढेको अबोध बालकलाई अनुशासनमा राख्न नसकेको भन्ने आरोपलाई अभिभावकले मानवताविरोधी भनेका छन् । बालबालिकाको दोस्रो घर मानिने विद्यालयले नै विद्यार्थीलाई पढाउन सक्दिनँ भन्दै निष्कासन गरिनु नैतिकताहीन काम भएको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया