नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै डरपोक र काँतर भएको भन्दै टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसको जागरण अभियानमा सम्बोधन गर्दै देउवाले संसदीय मर्यादा विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको अभिव्यक्तिलाई सभामुखले नजरअन्दाज गरेको आरोप लगाएका हुन्।
‘हिजो संसदमा देखिहाल्नु भो। गैरसंसदीय शब्द डिलिट गर्नु भनेको डरपोक काँतर सभामुखले सकेनन्,’ आक्रोशित मुद्रामा देउवाले भने, ‘इतिहासमै काँतर सभामुख रहेछन्।’ संसदमा ‘मेरो सरकार’, ‘हर मेजेस्ट्री’ जस्ता शब्दहरु भित्रिन थालेको विषयलाई उनले कडा रुपमा आलोचना गरे। ‘कम्युनिस्टले बिस्तारै जे पायो त्यही बोल्न थालिसके,’ देउवाले भने, ‘सदन त विपक्षीको भनिन्थ्यो। तर, सभामुखले गरिमा राख्न सकेनन्।’ देउवाले भने।
उनले हरेक क्षेत्रमा कम्युनिस्ट सरकारले हस्तक्षेप गर्न थालेको बताउंदै त्यसविरुद्ध २००७ साल, पञ्चायत र राजाविरुद्ध लडे झै लड्न तयार भएको दाबी गरे।
कार्यक्रममा नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दाबी गरेका थिए। ‘कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन्। कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाह पाइहाल्छन् नि भनेर बस्छन्,’ सिंहले भने, ‘रुन पनि पाउँदैन भनेर देउवाले भन्दा मान्छेहरु नहुने कुरा भन्थे। अब त्यस्तै हुन लागेन ? पत्रकार पक्रेन ?’





























प्रतिक्रिया