नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उत्तेजना फैलाएको भन्दै असन्तुष्टि पोखेका छन् ।
पछिल्लोसमय एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मेयर बालेनले विभिन्न टिकाटिप्पणी गरिरहेको समयमा बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले हरेक व्यक्तिको सीमा र अधिकार तोकेको र आफू मेयर हुँ भन्ने नभुल्न चेतावनी दिएका हुन् ।
‘देशमा यो व्यवस्था ल्याउनको लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्न आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो हो । उत्तेजना फैलाएर हुँदैन। तपाईंमार्फत् लाखौँ युवाहरूले भविष्य खोजेका हुन्। तर पछिल्लो दिनमा जसरी जाँदै हुनुहुन्छ त्यसले ती युवाहरूलाई धोखा हुन्छ।’ उनले भने ।
उनले थपे, ‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौँ महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईंले आज मजाक उडाउने ?’
साथै सांसद भट्टराईले मेयर बालेनलाई सहयोग गर्न आफूहरु तयार रहेको पनि बताएका थिए । ‘अहिले पनि बालेनजीलाई म भन्न चाहन्छु पैसा कति चाहियो सरकारले दिन तयार छ। सरकारले दिन्छ। प्रधानमन्त्री अर्थमन्त्री र सम्बन्धित मन्त्रीलाई भनौँला। काठमाडौँलाई अझै सुन्दर बनाउने योजना के छन्, आउनुस्।’ उनले भने ।





























प्रतिक्रिया