अपहरित बालक हत्या : आमा भन्छिन् – ‘एक पटक छोरा देखाइदेऊ’

अपहरित बालक हत्या : आमा भन्छिन् – ‘एक पटक छोरा देखाइदेऊ’

केन्द्रबिन्दु
0
Shares

धनुषा
‘मेरो राजाबाबु मलाई छोडेर कहाँ गयो,’ ३५ वर्षीय रेनु साह अढाई वर्षीय काखे छोरो आर्यन खोज्दै चिच्याइ चिच्याई रोइरहेकी थिइन् । आफन्तले उनलाई सम्झाइरहेका थिए । १२ वर्षीया छोरी अर्चना पनि आमासँग भन्दै थिइन्, ‘मेरो भाइ आँगनमा खेल्दैछ, एकछिनपछि आउँछ ।’ आमालाई सम्झाउँदै गर्दा अर्चनाका पनि आँसु झरिरहेका थिए ।

तर अर्चनाले भने जस्तो आर्यन आउनेवाला थिएनन् । उनी त कहिल्यै नफर्किने गरी कालको मुखमा परिसकेका थिए । सोमबार साँझ गाउँबाटै अपहरणमा परेका आर्यनको घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा शव भेटिएको थियो ।

‘बालकलाई हामीले जिउँदै फेला पार्न हराएको बेलादेखि नै खोजिरह्यौं’, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले भने, ‘तर मंगलबार बिहान एकाएक घाँटी रेटी हत्या गरेको अवस्था शव भेटियो ।’ पछाडिबाट घाँटी रेटिएको अवस्थामा बालक भेटिएको उनको भनाइ छ।

प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ । घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा छ । ‘सर, मेरो राजाबाबु कहिले भेट्छ,’ रेनुले सोधिन् ।

छोराले ‘माई (आमा)’ भनेर बोलाउने तोते बोली रेनुको मानसपटलमा ताजै छ । ‘मेरो छोरो काखमा राखिदेऊ। एक पटक छोरो देखाइदेऊ’, पापीहरूले बाबुको हत्या कसरी गरे होलान्’, उनी भक्कानिइन् । मृतकका बाबु शम्भु साह वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन् ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo