काठमाडौं
सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबार ( आज) देखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दैछ । ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ ।
पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो । एक महिना (जेठ २५ गते) सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ । ‘सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगि सक्नु भएको छ, बुधबार सबै जिल्लामा अभियानको सुरुवात हुन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपाली राजनीतिमा एकै स्वरूपको प्रथम कार्यक्रमका रूपमा अभियान प्रारम्भ हुँदैछ ।’
देशबाहिर विभिन्न ३३ मुलुकमा पनि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । अभियान गर्नुका १५ वटा उद्देश्य रहेको उनले बताए । पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने अभियानको पहिलो उद्देश्य हो,’ उनले भने, ‘अभियानका क्रममा कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्छौं ।’
सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ । ‘सरकारका भ्रष्टाचार लगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ । त्यस्तै कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ । कार्यक्रमको उद्घाटन वरपीपल, स्वामीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया