एजेन्सी । भारतमा एक बुबाले आफ्नै छोरी ज्वाईलाई जलाएका छन् । भारतको महाराष्ट्र अन्र्तगत अहमदनगरका रामा रामफल भारतीले आफ्नै छोरी रुक्मिणी र ज्वाई मंगेश रणसिंघेलाई जिउँदै जलाएका हुन् ।
१९ वर्षकी रुक्मिणीले ६ महिनअघि परिवारको मञ्जुरीबिना मंगेशसँग प्रेम विवाह गरेकी थिईन् । जुन कुरा रुक्मिणीको बुबाआमासहित आफन्तलाई मन परेन् । उनीहरुले बेला बेला दुवै जनालाई धम्की दिदैं आए । उनीहरुको अन्तरजातिय विवाह भएको थियो ।
विवाहपछि परिवारबीच मनमुटाव बढ्दै गएपछि रुक्मिणीको बुवा, काका र मामा मिलेर रुक्मिणी र मंगेशलाई जिउँदै जलाएका हुन् । आगो लागेर करिब ६० प्रतिशत जलेकी रुक्मिणीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
बेला बेला धम्की दिन थालेपछि रुक्मिणी र मंगेशले सन् २०१९ को फेब्रुअरी महिनामा प्रहरीमा उजुरी पनि दिएका थिए । यसै तनावको माहोलका बीच एक दिन रुक्मिणीका आमा–बुवाले ३० अप्रिलमा उनलाई घर बोलाएका थिए । घर आएपछि उनीहरुले रुक्मिणीलाई पिटे ।
त्यसै रात रुक्मिणीले मंगेशलाई फोन गरेर आमा–बुवाले पिटेको जानकारी गराइन् । र, आफूलाई लिन आउन भनिन् । भोलिपल्ट मे १ तारिखको दिन मंगेश रुक्मिणीलाई लिन ससुराली गए । त्यहाँ उत्तर प्रदेशमा रहँदै आएका रुक्मिणीका काका सुरेन्द्र बाबुलाल भारती (बिल्लु पण्डित) र मामा घनश्याम पनि आएका थिए । मंगेश ससुराली घरमा आएपछि बिहेको विषयलाई लिएर झगडा चर्कियो । रुक्मिणी र मंगेश कुटिए ।
त्यसपछि उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई डोरीले बाँधे । त्यसपछि पेट्रोल छर्किएर उनीहरुलाई आगो लगाइदिए । घरबाट दर्दनाक चिच्याहट सुनेपछि छिमेकीहरु घटनास्थल पुगे । उनीहरुले एम्बुलेन्स बोलाएर रुक्मिणी र मंगेशलाई पुणेको अस्पताल लगे ।
तीन दिनसम्म जीवनसँग लड्दालड्दै ५ मे का दिन रुक्मिणीको मृत्यु भयो । मंगेशको भने अझै उपचार भईरहेको छ । उनको स्थिति पनि गम्भीर छ । उनको शरीरको करिब ४५ प्रतिशत भाग जलेको छ ।
यसैबीच प्रहरीले रुक्मिणीका मामा घनश्याम र काका सुरेन्द्रलाई पक्राउ गरेको छ । रुक्मिणीका बुवा भने फरार छन् । उनको खोजी भईरहेको छ । घटनास्थलमा प्रहरीले पेट्रोलको बोतल लगायतका केही सामाग्री बरामद गरेर अनुसन्धान सुरु गरेको छ ।





























प्रतिक्रिया