काठमाडौं । प्रहरीले पूर्वसभासद गायत्री साहलाई पक्राउ गरेको छ । बच्चालाई अस्पतालमा छोडेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
आफ्नो बच्चालाई स्वीकार गर्न नमानेको र त्यसमाथि अस्पतालमा हो-हल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी रवीन्द्र सिंह धानुकले जानकारी दिए ।
आइतबार दिउँसो ४ बजे साह र उनका पति सन्तोषलाई पक्राउ गरिएको एसएसपी धानुकले बताए। अदालतबाट पक्राउ पूर्जी लिएर उनीहरुलाई नियन्त्रणमा लिईएको एसएसपी धानुकको भनाई छ । पक्राउ पर्नुअघि साहले मेडिसिटी अस्पतालविरूद्ध प्रदर्शन गरेकी थिइन्।
साहले गत महिना (२८ फागुनमा) ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । जन्मदा बच्चाको अवस्था सामान्य थियो । ३४ वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी साह खुसी हुँदै डिस्चार्ज भएर घर गइन् । तर, एक महिनापछि बच्चामा गम्भीर समस्या देखियो । भारतमा गरिएको नमुना परीक्षणमा शिशुलाई ‘डाउन सिन्ड्रोम’ नामको रोग लागेको पत्ता लाग्यो ।
गायत्रीको शिशुको मुटु, फोक्सो र शरीरका विभिन्न भागमा समस्या देखिएपछि परीक्षण गरिएको हो । चिकित्सकले रोगबारे बताएपछि गायत्रीले पेटमै हुँदा किन गर्भपतन नगरिदिएको भन्दै चिकित्सकसँग झगडा गरेकी थिईन् ।
उनले बच्चा अस्पतालमै छोडेर गएकी थिईन् । उनले अस्वस्थ बच्चा जन्माउन अस्पतालको हात रहेकाले सम्पूर्ण उपचार खर्च अस्पतालले व्यहोर्नुपर्ने भन्दै उनले बच्चालाई अस्पतालमै छोडेकी हुन् ।
गर्भवती अवस्थामा उनको मेडिसिटीमा काम गर्ने डा. निरासिंह श्रेष्ठले नियमित चेकजाँच गरेकी थिइन्, उनले अस्पतालमा नभई उनकै निजी क्लिनिकमा चेकजाँच गरेकी थिईन् । श्रेष्ठले भने गर्भावस्थामा नभई जन्मिएपछि शिशुमा स्वास्थ्य समस्या देखिएको दाबी गर्दै आएकी छन् ।































प्रतिक्रिया