गायिका ज्योति मगरले लोकदोहोरी गीत ‘फोहोरी’ भएको र विकृति तथा विसंगति फैलिएको भन्नेहरुलाई कडा दनक दिएकी छन् । गीत बिग्रिएएको, प्रस्तुतीकरण नमिलेको भए त्यसको मापदण्ड के हो भन्दै सम्बन्धित निकायमाथि प्रश्न चिन्ह नै खडा गरेकी छन् ।
पछिल्लोसमय लोकदोहोरी गीतमा देखिएको विकृति तथा विसंगति न्यूनीकरणका लागि व्यक्ति विशेषलाई सचेत गराउनेदेखि विभागीय मन्त्रालयसम्म पुगेर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पहल थालेको थियो । सो क्रममा गृहमन्त्री रवि लामिछानेलाई भेटेर लोकदोहोरीका सर्जक तथा स्रष्टा हुँ भनेर भन्नसमेत लाज मान्नुपर्ने अवस्था आउने गरी केही गीतसंगीत आएको भन्दै गुनासो नै गरेका थिए । त्यसपछि आज ज्योति मगरले त्यसको कटाक्ष गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘तिम्रो संस्थाले कलाकारको चुलो बाल्देको छ र हक जताउन लाई ?’ साथै उनले तिम्रो संस्थालाई कुन संविधानले अधिकार दिएको छ स्वतन्त्र कलाकारको सिर्जनामाथि औंला उठाउन पनि उनले भनेकी छन् । लोकदोहोरी गीत कसैको विर्ता नभएको पनि उनले दाबी गरेकी छन् ।
ज्योति मगरले लोकदोहोरी गीत अश्लिल भन्नेलाई पनि त्यस्तै जवाफ दिएकी छन् । ‘अहिले आएका लाइभ दोहोरीहरु मेरो परिवारसँगै बसेर मैले त सुन्न सकेँ तिम्रा परिवारले सुन्न सकेनन् त्यो तिम्रो समस्या हो आफ्नो समस्या अरुमाथि थोपर्न पाइन्छ ?’ उनले भनेकी छन् । साथै उनले दोहोरी गीत प्रतिष्ठान नेपाललाई लक्षित गर्दै नयाँ पुस्ताले संस्कृति बिगारेको आरोप लगाउनेले आफूले के योगदान गरेको छ भनेर पनि सोधेकी छन् ।
‘नयाँ जेनेरेसनमाथि संस्कृति बिगारेको आरोप लगाउनेहरु संस्कृतिको जगेर्ना गर्न तिमि र तिम्राे संस्थाले दिएको योगदान के के हो ? त्यही दोहोरी गीत प्रतियोगिता गरेर पैसा कमाउनु, प्रतिष्ठानको लागि देउसी भैलो खेलेर चन्दा उठाउनु, प्रतिष्ठानको सहकारी खोलेर पैसा कमाउनु, मन्त्रीज्युसँग पशुपतिमा झाडु लगाउनु या त नारायण रायमाझी एकल साँझ टाइपका व्यावसायीक शो गरेर जनतासँग टिकेटको महंगाे पैसा असल्नु ?’ उनले भनेकी छन् ।
संस्कृति बचाइराख्नु कसैको बसको कुरा नभएको बताएकी ज्योति मगरले स्वतन्त्र कलाकारलाई स्पस्टिकरण माग्नु पैसावाला गैर कलाकारलाई आजीवन सदस्यको बिल्ला र अमेरिका युरोप अस्ट्रेलियामा गैर कलाकारलाई प्रतिस्ठानको कलाकार भन्दै चिठी बाँडेको जस्तो सजिलो नभएको भन्दै कटाक्ष पनि गरेकी छन् । गायिका ज्योति मगर यसअघि पनि पटकपटक कलाकारको पक्षमै आफ्नो धारणा राख्दै आएकी छन् ।
गायक बालचन्द्र बरालले केही समय अगाडि अपाच्य शब्द प्रयोग गर्दै लाइभ दोहोरी युट्युबमार्फत् सार्वजनिक गरेपछि आलोचना भएको थियो । उनलाई प्रतिष्ठानले साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि कारबाही गरेको छ । उनले ६ महिना प्रतिष्ठानको लोगो, पोशाक तथा पिन प्रयोग गर्न पाउने छैनन् ।































प्रतिक्रिया