युरो कपः घरेलु टोली जर्मनीलाई सरप्राइज दिने मुडमा स्कटल्याण्ड [भिडियाे]

युरो कपः घरेलु टोली जर्मनीलाई सरप्राइज दिने मुडमा स्कटल्याण्ड [भिडियाे]

केन्द्रबिन्दु
24
Shares

मिनी फुटबल विश्वकप अर्थात् युरो कपको १७औं संस्करण आजबाट जर्मनीमा सुरु हुँदैछ । उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । जर्मनी आफ्नो इतिहासमा १४औं पटक युरो खेल्दैछ, जुन आफैंमा कीर्तिमान हो ।

तीन पटकको विजेतासमेत रहेको जर्मनी घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ । त्यसैले जर्मनी सुखद सुरुवात गर्ने लक्ष्यमा छ । साथै यस पटक घरेलु मैदानमा उपाधि जित्दै युरोमा सफल टोली बन्ने योजनामा छ । अझ भनौं, स्कटल्याण्डसँगको इतिहास पनि जर्मनीले एकलौटी नै बनाएको छ । पछिल्लो १३ खेलमा १२ पटक स्कटल्याण्डलाई स्तब्ध पारिसकेको छ । सन्यास फिर्ता लिएर पुनः राष्ट्रिय टोलीमा फर्किएका अनुभवी मिडफिल्डर टोनी क्रुसको पुनरागमनसँगै युरोमा जर्मनीको उपाधि सम्भावना उत्तिकै बलियो हुनेछ ।

तर, ‘अन्डर डग’ छवि बनाएको स्कटल्याण्डले पहिलो खेलमै आयोजकलाई हराउँदै सरप्राइज दिने आँकलन उसका समर्थकको छ । हालै मात्र मैत्रीपूर्ण खेलमा स्कटल्याण्डले साविकको उपविजेता ईङल्याण्डलाई हराएको थियो । त्यसकारण पनि पहिलो पटक नकआउट चरणमा पुग्ने उदेश्यसहित मैदानमा उत्रन लागेको स्कटल्याण्ड र घरेलु मैदानमा युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ । यस समूह ‘ए’मा हंगेरी र स्विजरल्यान्ड पनि छन् ।

जुलाई १४ सम्म जर्मनीका विभिन्न १० शहरको १० स्टेडियममा हुने प्रतिस्पर्धामा युरोपका २४ उत्कृष्ट राष्ट्रको सहभागिता छ । यी राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् । अघिल्लो संस्करण युरोपकको विभिन्न ११ देशको ११ शहरमा आयोजना भएको थियो । तर यसपटक युरोकप एकै देशमा मात्र आयोजना हुन लागेको हो । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

युरोकपको उपाधि सबैभन्दा धेरै पटक जित्ने टोलीमा जर्मनी र स्पेन छन् । जर्मनी र स्पेनले ३-३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो । त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो ।

यस रिपोर्टमा हामी यसपटकको युरोकप गुमाउने चर्चित खेलाडीको पनि चर्चा गर्नेछौं । यसपटक युरोकप गुमाउनेमा पहिलो नंबरमा बेल्जियमका चर्चित गोलकिपर थ्रिबाउट कर्र्टुवा रहेका छन् । देश होस् या व्यवसायिक क्लबमा नायक बन्ने उनी राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण यस युरोकपमा देखिने छैनन् । त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरीका कारण यस युरोकप गुमाउने भएका छन् । युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा नखेल्ने भएका छन् । साथै जर्मनीकै स्टार डिफेन्डर माट्स ह्युमल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि ह्युमल्सले युरोकप गुमाउने भएका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका हुन् । यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका फ्रानकी डी जोङ, जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् । साथै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।

यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार पनि यसपटक युरोकप मा देखिने छैनन् । किनकी नर्वे छनोट नै हुन सकेन ।

यति मात्र होइन, चर्चित फुटबलस्टार क्रिष्टियानो रोनाल्डोले लगातार छैटौं पटक युरोकप खेलेर रेकर्ड राख्दै छन् । सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत रोनाल्डो लगातार छैटौं पटक पोर्चुगल फुटबल टोलीको साथमा रहेका हुन् । रोनाल्डो २५ खेलमा १४ गोलका साथ युरोकपमा पनि गोलकर्ताको शीर्ष स्थानमा छन् । रोनाल्डोले २०१६ मा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए भने २०२० संस्करणमा सर्वाधिक गोलकर्ता बनेका थिए । योपटक पनि उनको कला देख्न पाइने छ ।

Logo