काठमाडौं
९२ वर्ष अघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर–अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौँदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो ।
पूर्व र बहालवाला सांसदहरूबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रमण गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ ।
यस्तै प्रदेश–२ कि बहालवाला सांसद सीता गुरुङले पनि अमलेखगन्जमा रेलको संरचना अतिक्रमण गरेर घर बनाएकी छिन् । कर्मचारीका लागि बनाइएको भवन भएकै ठाउँमा जग्गा अतिक्रमण गरेर घर बनाएकी हुन् । अमलेखगन्जमा तत्कालीन समयमा बनाइएको कर्मचारीको भवन र वाल भत्किएपछि सोही ठाउँमा मिचेर गुरुङले घर बनाएको अख्तियार स्रोतले जनायो । अख्तियारले अतिक्रमित जग्गाको विस्तृत विवरण लिइसकेको छ ।
०३३ पछि ०५० सम्म व्यक्ति र संस्थाहरूबाट रेल्वेको जग्गा अतिक्रमण भएको अख्तियारको छानबिनमा खुलेको छ । अख्तियार हेटौँडा कार्यालयका अनुसार २२ असार ०७१ देखि अख्तियार केन्द्रले प्रारम्भिक अनुसन्धान गरे पनि १ साउन ०७५ मा केन्द्रमा उजुरी परेपछि हेटौँडा कार्यालयबाट विस्तृत अनुसन्धान सुरु भएको हो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया