इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

केन्द्रबिन्दु
9
Shares

इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा रु चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन्।

चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ। आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन्।

फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ। वडा नं १ स्थित धलपुजे टारीटोलमा रु ६६ लाख ७० हजार दुई सय ७२ को लागतमा ७० घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धुलपुजे टारी सिँचाइ कुलो र वडा नं २ स्थित राईगाउँमा रु ९९ लाख ४४ हजार छ सय ८६ लागतमा ६५ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी राईकुलो सिँचाइ निर्माण भएको छ। वडा नं ३ स्थित पिपलडाँडा सल्लेरी गाउँमा रु ६० लाख ८१ हजार चार १६ को लागतमा एक सय ६३ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी धनसार पिपलडाँडा सल्लेरी सिँचाइ कुलो र वडा नं ४ स्थित गुरुङगाउँमा रु ५४ लाख २८ हजार नौ सय २० को लागतमा ३९ घरका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी गुरुङखोला सिँचाइ कुलो निर्माण भएको छ।

यसैगरी, वडा नं ५ स्थित फुङगाउँमा रु ३९ लाख १४ हजार ३७ को लागतमा ३१ परिवार लाभान्वित हुनेगरी फुङखोला कुलो र वडा नं ७ स्थित तिवागाउँमा रु ९९ लाख ४३ हजार ९८ को लागतमा एक सय २७ परिवारको खेत सिँचाइ गर्नेगरी तिवाखोला ठाडे सिँचाइ कुलो निर्माणको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले बताए।

आयोजना सम्पन्न भएपछि फाकफोकथुमका छवटा वडाका खेतबारीमा बाह्रैमास पानी पुग्नेछ। आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास उनले व्यक्त गरे।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीय पञ्च योङहाङको अपेक्षा छ। फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, बन्दकोबी, सिमीको व्यावसायिक खेती हुँदै आएको छ।

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय र प्रदेश सरकार तथा फाकफोकथुम गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी छ। युवालाई कृषि क्षेत्रमा आकर्षित गरी उत्पादकत्व वृद्धि गर्ने र कृषिको व्यावसायिकीकरणबाट आयआर्जन गर्ने लक्ष्यका साथ साना सिँचाइ कार्यक्रम सञ्चालन गरिएको हो।

Skip This
Skip This
Logo