काठमाडौं । इन्डोनेसियामा गत हप्ता भएको आमनिर्वाचनको मत गणनाको क्रममा २७२ जनाको मृत्यु भएको छ । अझै १ हजार ८७८ जना कर्मचारीहरु विरामी परेका छन् । लाखौं मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परेको र २७२ जनाको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता आरिफ प्रियो सुसान्तोले ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेको र उनीहरु चर्को गर्मीमा रातभर काम गर्दा यस्तो दुखद घटना भएको बताए । इन्डोनेसियामा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए ।
यही १७ अप्रिलमा भएको निर्वाचनमा ८ लाख मतदान केन्द्र तोकिएको थियो । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न धेरै संख्यामा कर्मचारीहरु परिचालन गरिएको थियो । तर, उनीहरुको स्वास्थ्य जाँच गराइएको थिएन । निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरका दरले राहत दिने जनाएको बीबीसीले जनाएको छ ।































प्रतिक्रिया