तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

तेस्रो डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम

केन्द्रबिन्दु
15
Shares

मन्थली । तेस्रो राष्ट्रिय माझी डुङ्गा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ। रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेण्डमा डुङ्गालाई नदी वारपार गराई प्रथम हुन सफल भएका हुन्। यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुङ्गाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय र तीन मिनेट २४ सेकेण्डमा नदी वारपार गरी सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

‘डवल’ विधातर्फ दुई मिनेट ४४ सेकेण्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेण्डमा रामेछाप राताटारको समूह द्वितीय , दुई मिनेट ५१ सेकेण्डमा ओखलढु्गाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेण्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो।

उक्त प्रतियोगिताको ‘सिङ्गल’ विधामा दुईजना र ‘डबल’ विधामा चारजनाको समूह रहेका थिए। प्रतियोगितामा रामेछाप सिन्धुली, दोलखा, सुनसरी र ओखलढुङ्गा जिल्लाका खेलाडीको सहभागिता थियो। प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६ समूहको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिए। विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुङ्गालाई सेलेघाटस्थित तीन नदीको सङ्गम त्रीवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान रहेको थियो। माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुङ्गा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष प्रतियोगिताको आयोजना हुँदै आएको छ। प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गरेका थिए।

Skip This
Skip This
Logo