प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले विकासको भोक जगाएको बताएका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उनले वर्तमान सरकार स्व अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गरे ।
स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताए । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उनको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उनले भने, ‘चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’
एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताए । स्व. अधिकारीपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उनको भनाइ छ । वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।’
पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गते निधन भएको थियो ।































प्रतिक्रिया